२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोसः मन्त्री पण्डित



२३ चैत, पाल्पा ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीले जागिर छोड्नुपर्ने बताएका छन् ।

पाल्पाको तानसेनस्थित मदनपोखरामा सञ्चालित सामुदायिक रेडियो मदनपोखराको २० औँ वार्षिकोत्सवमा उनले सरकारले पठाएको ठाउँमा जान नचाहने र अटेरी गर्ने कर्मचारीलाई जागिर छोडेर जान उपयुक्त हुने बताएका छन् ।

मन्त्री पण्डितले भने–“अटेरी गरेर बसिरहने हो भने जागिर छोडेर जाँदा राम्रो होला, त्यस ठाउँमा नयाँ पुस्ताका कर्मचारीबाट नयाँ ढंगबाट काम लिइन्छ ।” निर्वाचित जनप्रतिनिधिलाई समेत आफ्नो सेवा र सुविधामा मात्र ध्यान नदिई जनताको सेवामा समर्पित हुन पनि उनले आग्रह गरे ।

पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो मदनपोखराले जनयुद्धमा पनि अनेक धम्की आउँदासमेत जनताको सु सूचित हुने अधिकारको प्रवर्द्धनका लागि अटल भएर कार्य गरेकोमा प्रशंसा गरे ।

जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल, पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, पूर्वसभासद् नारायणी शर्मा, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघका सचिव किरण कौशलले सञ्चारको क्षेत्रमा सामुदायिक रेडियो मदनपोखरा एउटा उदाहरणीय जनपक्षीय प्रसारण संस्था बनेको बताए ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००