६ श्रावण २०८१, आइतबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीको झोलुङ्गे पुल जीर्ण हुदा स्थानीय जेखिममा



१८ चैत, फलेवास पर्वत ।
दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जीर्ण हुँदा यहाँका बासिन्दा जोखिम मोलेर नदी तर्न बाध्य भएका छन् । फलेवास नगरपालिकाको मुडिकुवा र बागलुङको जैमिनी नगरपालिकाको कुश्मीसेरा जोड्ने कालीगण्डकी नदीमाथिको काठेपुल दुई दशक पहिले निर्माण भएकामा मर्मत हुन सकेको छैन ।

कालीगण्डकी तर्न बनाइएको पुल जीर्ण बन्दै गएपछि स्थानीयवासी जोखिम मोलेरै भए पनि वारपार गर्न बाध्य भएको स्थानीयवासी कृष्णप्रसाद गौडेलले बताए । पटक पटक पुल मर्मतका लागि जिल्ला समन्वय समिति लगायत विभिन्न निकायमा माग गर्दा पनि मर्मतका लागि पहल नभएको उनले बताए ।

पुल मर्मत नहुँदा बागलुङका कुश्मीशेरा, बलेवा र बिनामारे तथा पर्वतको फलेवास क्षेत्रका बासिन्दालाई नदी तर्न समस्या परेको छ । कतिपयले जोखिम मोलेरै उक्त पुलबाटै वारपार गर्ने गरेका छन् भने कतिपय त्रासका कारण दुई घण्टा पैदल हिँडेर कुश्मा–कैंयाको अग्लो पुलमार्फत नदी तर्न बाध्य भएका छन् ।

“काठको पुल कुनै न कुनै बेला दुर्घटना हुने निश्चित छ” उनले भने । “उक्त पुल जोडले हल्लिने गरेको छ भने धेरै भार थेग्न नसक्ने अवस्थामा पुगिसकेको छ ।” दुई जिल्लाका दुई नगरपालिका जोड्ने उक्त पुल मर्मत तथा पुनःनिमाणका लागि दुवै नगरपालिकाले ध्यान दिनुपर्ने स्थानीयवासीको भनाइ रहेको छ । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले पुलको अध्ययन अवलोकन गरेर दुई नगरपालिकाबीचको समन्वयमा मर्मत गरिने बताए ।
रासस

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतबार ००:००