६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोइलावासको रामजानकी मन्दिर ओझेलमा



नारायणी रजौरे
१६ चैत, कोइलावास– दाङ ।
पर्यटनको राम्रो सम्भावना बोकेको दाङको एक धार्मिक सम्पदा ओझेलमा परेको छ । करिब ८ दशक पहिले निर्माण भएको साविक कोइलावास गाविसमा पर्ने हाल गढवा गाउँपालिका ८, कोइलावासमा रहेको रामजानकी मन्दिर हाल प्रचारप्रसार अभाव तथा बाटोघाटोको असुविधाले ओझेलमा परेको हो ।

नेपालको जनकपुर पछिको दोस्रो स्थानमा पर्ने रामजानकी मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार नहुँदा ओझेलमा परेको कोइलावासवासीले बताएका छन् । सन् १८८५ मा निर्माण भएको सो रामजानकी मन्दिरमा पहिले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेपनि हाल मन्दिर दर्शन गर्न आउने पर्यटक न्यून रहेको स्थानीय बताउँछन् ।

पहिले भारत लगायत अन्य देशबाट पर्यटक मन्दिर दर्शनका लागि आउने गरे पनि हाल पर्यटकको संख्या निकै कम भएको बताइएको छ । “मन्दिरमा पहिले दैनिक १ सय भन्दा बढी भारत तथा नेपालका अन्य स्थानबाट पर्यटक आउने गर्थे, हाल भने पर्यटक शुन्यप्राय छन्” स्थानीय फरिद सिद्धिकीले भने ।

पर्यटनको राम्रो सम्भावना बोकेको सो मन्दिर हाल ओझेलमा पर्नुमा कोइलावास सम्म जाने बाटोको दूरवस्था तथा प्रचारप्रसार नहुनु मुख्य कारण भएको स्थानीय सानुमाया तुलाधरले बताइन् । उनले भनिन् “मन्दिरको उचित प्रचारप्रसार नहुनु तथा धार्मिक तथा पर्यटकीयस्थलको संरक्षणमा राज्यले ध्यान नदिएका कारण नेपालकै दोस्रो ठूलो रामजानकी मन्दिर ओझेलमा परेको छ ।”

यसको उचित संरक्षण तथा प्रचारप्रसार भयो भने दाङको पनि विकास हुन्छ, दाङको नाम पनि देशैभर छाउने, यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँने स्थानीय हरि कुरसीको भनाइ छ । कुनैबेला रातदिन झकीझकाउ हुने तथा पर्यटकको घुइँचो हुने मन्दिर हाल सुनसान हुने गरेको छ ।

अन्य स्थानमा पर्यटन प्रवर्द्धनका लागि भन्दै मेला महोत्सव भएपनि दाङको सबैभन्दा पुरानो र ठूलो रामजानकी मन्दिरमा भने कुनै कार्यक्रम नभएको स्थानीयले गुनासो गरेका छन् । अन्य स्थानमा मेला महोत्सव भएपनि रामजानकी मन्दिरमा कुनै कार्यक्रम भएनन्, यसको विकास तथा प्रचारप्रसार भयो भने कोइलावासको पनि विकास हुने स्थानीय बताउँछन् ।

सो मन्दिरमा पहिले शरद पूर्णिमा र कृष्ण जन्माष्टीमा कृष्णलिला सात दिनसम्म धुमधामका साथ मनाइने गरेको पत्रकार दशरथ घिमिरेले बताए । “रुकुम, रोल्पा, दाङ, सल्यान र प्यूठानका साथै भारतमा पनि प्रसिद्ध रहेको सो मन्दिर हाल ओझेलमा परेको घिमिरेको भनाइ छ ।

कुनै बेला भारत तथा दाङ, रोल्पा, रुकुम र सल्यान लगायतका बटुवाको आश्रयस्थल हुने मन्दिरमा हाल नान्हकप्रसाद सुक्लाले दैनिक पूजापाठ गर्नुका साथै मन्दिरको संरक्षण गर्ने गरेको बताइएको छ । यसअघि जीर्ण बन्दै गएको सो मन्दिरमा हाल भने रङरोगन भएको छ ।

कुनै बेला नेपालको मुख्यनाकाका रुपमा रहेको कोइलावासमा दैनिक ५०० देखि ७५० जना मानिस टाढाटाढाबाट नूनतेल किन्नका लागि जाने गर्दथे । त्यहाँ ठूलो व्यापारिक केन्द्र हुँदा दैनिक ठूलो संख्यामा किनमेल गर्ने मानिसको भिड लाग्ने गर्दथ्यो भने टाढाटाढाबाट भक्तजन मन्दिरको दर्शन एवं पूजाआजाका लागि त्यहाँ जाने गरेका थिए ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ००:००