५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलोत्तमा नगरपालिकाको वनवाटिकामा १० तले भ्यू टावर बन्ने



१६ चैत, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा धरहरापछिको अग्लो भ्यू टावर बन्ने भएको छ ।

तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रको १३ करोड ५८ लाखको संयुक्त लगानीमा १० तलाको भ्यू टावर बन्न लागेको हो । टावर १३३ फिट अग्लो र भुइँतला तीन हजार ५९५ दशमलव ८९ वर्गफिटको हुनेछ ।

भ्यू टावर भवन २ कठ्ठा क्षेत्रफलमा बन्नेछ भने विभिन्न पर्यटकीय पूर्वाधार र संरचना दुई बिघा क्षेत्रफलमा बन्नेछन् । लिफ्ट सुविधासहित बन्ने भ्यू टावरमा सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामका लागि बास बस्न मिल्ने वातानुकूलित कोठा, पुस्तकालय लगायत संरचना बनाउने गरी डिजाइन गरिएको छ ।

चालु आर्थिक वर्षमा भ्यू टावरका लागि नगरपालिकाले एक करोड विनियोजन गरेको छ । भ्यू टावर निर्माणको कूल बजेटको ७० प्रतिशत नगरपालिकाले र ३० प्रतिशत अनुसन्धान केन्द्रले ब्यहोर्नेछ । चार वर्षमा पूरा गर्ने सम्झौता भए पनि ठेकेदार कम्पनी प्राकृतिक निर्माण प्रालिले बजेट व्यवस्थापन भएमा दुई वर्षमै निर्माण पूरा गर्न सकिने जनाएको छ ।

भ्यू टावरबाट बुटवल, भैरहवा र लुम्बिनीसम्म आँखाले सजिलै देख्न सकिनेछ भने दूरबिनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिनेछ । टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान गरिनेछन् ।

टावरको विहिबार शिलान्यास गर्दै प्रदेशसभा सदस्य बलदेव शर्मा पोखरेलले तिलोत्तमा नगरपालिकालाई पर्यटकीयस्थल बनाउन भ्यू टावर निर्माणले महत्वपूर्ण टेवा पु¥याउने बताए । नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले ‘तिलोत्तमा भ्यू टावर’ बनेपछि यहाँ आउने पर्यटकको संख्या चार गुणाले बढ्ने अपेक्षा गरिएको बताए ।

नगरपालिकाका उपप्रमुख जागेश्वरी चौधरीले टावरको निर्माणले समग्र तिलोत्तमाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरिन् । अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्न, बालरेल सञ्चालन र बोटानिकल गार्डेनका लागि सहयोग गर्न प्रदेश सरकारसंग माग गरे ।
रासस

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ००:००