६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पकली–नडाहा सडक विवादमा सहमति



१५ चैत, इटहरी ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सांसद् एवं इटहरी उपमहानगरपालिकाका प्रमुख र विभिन्न राजनीतिक दलका नेताहरु सुनसरीको पकलीस्थित कान्छी चोक—नडाहा सडक खण्डमा उत्पन्न विवादमा पुरानो निर्णयलाई कार्यान्वयन गर्नुपर्ने विषयमा पूर्ण सहमत बनेका छन् ।

प्रतिनिधिसभा सांसद् एवं पूर्वयातायात राज्यमन्त्री सीताराम मेहता, प्रदेश सांसद सर्वध्वज साँवा तथा इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र नेपाली कांग्रेसका नगर सचिव प्रकाश बस्नेत लगायतका नेताहरुले विसं २०२४ सालमा नै उक्त सडक निर्धारण गरी नाप नक्सा समेत गरिएकाले त्यसैलाई मान्यता दिनुपर्ने बुधबार उनीहरुले साझा अवधारणा सार्वजनिक गरेका छन् ।

सडक विभागले भने सडक विस्तार एवं निर्माण गर्ने क्रममा हालको होक्राहा खोलासंग जोडिएको नम्बरी जग्गामा रहेको इलाका प्रहरी कार्यालय, कान्छीचोक तथा अरू सर्वसाधारणको नम्बरी जमिनमा निर्माण गरिएका घरसमेत बेदखलमा पर्नसक्ने भन्दै सडक विभागले पुरानै नाप नक्सालाई मान्यतामा लिएर सडक विस्तार एवं निर्माण गर्न पनि उनीहरुले सुझाव दिएका छन् ।

पूर्व–पश्चिम राजमार्ग निर्माण एवं नक्साङ्कनका क्रममा हालको होक्राहा खोला पूर्वपट्टिबाट उत्तरतर्फ सडकको जमिन रहेको नापनक्सा गरेकाले लामो समय सडक निर्माण नभएको अवस्थामा सडकको जमिन अतिक्रमण गरी बनाइएका केही घर बस्ती उठाएर सडक लैजानु नै उपयुक्त हुने पनि नेता र स्थानीय तहको तर्क रहेको छ ।

कांग्रेस नेता प्रकाश बस्नेतले सडकको जमिनमा बसोबास रहेका ७–८ घरमध्ये एक दुई बाहेक अन्य हुनेखाने परिवारको घर रहेकाले केही मुआबजा दिएर भए पनि सडक विभागले होक्राहा खोलामा अर्को पक्की पुल हालेर आफ्नो जमिन क्षेत्रबाट नै सडक लैजान न्यायसंगत हुने तर्क अघि सारे ।

विवादित स्थल र सडकको यथार्थ अवस्थाका विषयमा अवलोकन गर्ने क्रममा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले पनि सडक विभागले आफ्नो पुरानो तथ्यका आधारमा नै सडक एवं पुल बनाउनुपर्ने तर्क अघि सारेका छन् । सडक विभागले कान्छीचोक–नडाहा–चतरा हुँदै सप्तरीको कञ्चनपुरसम्म सडक निर्माण गर्दै आएको छ ।
रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार ००:००