६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडीखोला पुलः दशवर्षमा २ वटा पिलर मात्र ठड्याएपछि ठेक्का रद्द



उमा केसी
१३ चैत, रोल्पा ।
पश्चिम रोल्पालाई जिल्ला सदरमुकाम लिवाङसंग जोड्ने रोल्पाको माडीखोला पुल निर्माण आरम्भ भएको १० वर्षमा मात्रै २ वटा पिलर ठड्याएपछि बेवारिसे बनेको छ । पुल निर्माण नहुँदा जिल्ला सदरमुकाम आवतजावतमा लामो समयदेखि कष्ट व्यहोर्नु परेपछि तत्कालीन समस्या समाधानका लागि अस्थायी बेलीब्रीज निर्माण गरिएको थियो । बेलीब्रीज निर्माणसंगै पक्की पुल निर्माणमा बेवास्ता बढ्दै जान थालेको भन्दै स्थानीयले गुनासो गर्न थालेका छन् ।

०६५ सालमा सडक विभागमार्फत गरिएको टेण्डरबाट काठमाडौंमा रहेको लामा/एडी/धर्मेन्द्र जेभी निर्माण कम्पनीले सो पुल निर्माण गर्ने जिम्मा पाएको थियो । शुरुवाती चरणमा निर्माणको केही काम गरे पनि राजनीतिक पहुँचका आधारमा निर्माण व्यवसायी वसन्त दशौदीले निर्माण कार्यमा आलटाल गरेसंगै पुल निर्माण कार्य अनिश्चित बनेको स्थानीयले आरोप लगाएका छन् ।

निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यले रोल्पाका स्थानीय राजनीतिक दल र सामाजिक संघ संस्थाको टोली संघर्ष समिति बनाएर सडक डिभिजन कार्यालय प्यूठान समेत पुगेको थियो ।

पक्की पुल निर्माण कार्यलाई सरोकारवालाले जोड दिनुपर्ने स्थानीय युवा ध्रुवचन्द्र पुनले प्रतिक्रिया दिए । राज्यका महत्वपूर्ण जिम्मेवारीमा रहेका रोल्पाली नेताको ध्यान जान जरुरी रहेको पुनले बताए । बेलीब्रीज बनेसंगै जनतामा शिथिलता देखिँदा दबाब कम भएको उनको भनाइ छ । पुल निर्माणका लागि जनताको निरन्तर दबाब खबरदारी जरुरी रहेको पुनको भनाइ छ ।

प्यूठानको स्थानीय प्रशासन, सडक डिभिजन कार्यालय, रोल्पाको सर्वपक्षीय टिम र निर्माण व्यवसायीबीच अविलम्व निर्माण कार्य सम्पन्न गर्ने सहमति भएपनि निर्माण व्यवसायीले सहमति कार्यान्वयन नगरेको राष्ट्रिय जनमोर्चा रोल्पाका अध्यक्ष मेघनाथ विष्टले जानकारी दिए ।

अविलम्व काम शुरु गर्ने सहमति भएपछि ठेकेदारले अर्को एउटा पिलर ठड्याउने बाहेक थप काम गरेनन्, विष्टले भने । पुल निर्माणका क्रममा आफ्नो विभिन्न निर्माण सामग्री हराएको तथा लागत इष्टमेटभन्दा बढी काम थपिएको भन्दै निर्माण व्यवसायी डिसी फाइल बोकेर क्षतिपूर्ति माग गर्दै हिँडिरहेको भन्ने आफूले सुनेको विष्टले बताए ।

तीन वर्षका लागि टेण्डर आह्वान भए पनि राजनीतिक शक्तिको संरक्षणका कारण समयमा १० वर्षसम्म निर्माण हुन नसकेको नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिं पुनले बताए । अर्को टेण्डरका लागि प्रक्रिया अगाडि बढिरहेको हुँदा अबको एक÷दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी आफूहरुले दबाब दिइरहेको सभापति पुनले बताए ।

पुल निर्माणमा उदासीनता देखिएको भन्दै जनताले आवाज उठाउँदै आइरहेको नेकपा एमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले बताए । जनताको मागका आधारमा सम्बन्धित निकायमा आफूहरुले दबाब दिइरहेको घर्तीले प्रतिक्रिया दिए । ठेक्का रद्द गरेर अर्को टेण्डर गर्ने तयारी भइरहेकाले निकट भविष्यमै पक्की पुल बन्नेमा आफू आशावादी रहेको घर्तीले बताए ।

पुरानो टेण्डर रद्द भएको हुँदा अविलम्व नयाँ टेण्डर खोली काम सुचारु गर्न सडक डिभिजन कार्यालय, प्यूठानसंग कुराकानी भइरहेको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रतिक्रिया दिए । पुल निर्माण कार्यलाई तदारुकताका साथ अगाडि बढाइने प्रमुख केसीले बताए ।

सो नदीमा वैकल्पिक व्यवस्थाका लागि भन्दै हाल बेलीब्रीज राखिएको भए पनि आवतजावतमा निकै समस्या हुने गरेको यातायात व्यवसायी रामचन्द्र थापाले बताए । बेलीब्रीज निर्माण गरिएको स्थान निकै साँगुरो भएकाले जुनसुकै बेला दुर्घटना हुनसक्ने सम्भावना छ थापाले भने । साँघुरो बेलीब्रीज कच्ची सडक र अत्यन्तै अप्ठेरो घुम्तीका कारण समयमै सावधानी अपनाउन नसके सो स्थानमा धनजनको ठूलो क्षति हुने सम्भावना रहेको यात्रुले गुनासो गरेका छन् ।

पुल निर्माणसंगै पश्चिम रोल्पामा उत्पादन भएका तरकारी, फलफूल, घिउ, दाल, जडीबुटी, खसी बोका सदरमुकाम लिवाङ ल्याउन किसानलाई सहज हुने भएको छ ।

सदरमुकाम लिवाङ, सुलिचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान, दाङ हुँदै पुनः रोल्पा आउँदा लागत मूल्य पनि अधिक हुने भएकाले पुल निर्माणपछि बजार मूल्य पनि कम हुने उपभोक्ताले आशा व्यक्त गरेका छन् ।

सो पुल बनेसंगै रोल्पाका साविक दुई दर्जनभन्दा बढी गाविस तथा दाङ र सल्यान सम्मको यातायात सेवासमेत सहज हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलबार ००:००