१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन लक्षित पूर्वाञ्चलस्तरीय सुरक्षा गोष्ठी सुरू



विराटनगर, २५ चैत । स्थानीय तहको निर्वाचन सफल बनाउने उद्देश्यले एकीकृत साझा धारणा र आवश्यक दिशानिर्देशका लागि विराटनगरमा आजबाट पूर्वाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी सुरू भएको छ ।

गृहमन्त्रालयद्वारा आयोजित उक्त गोष्ठीमा पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्रका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूको सहभागी छन् ।

सुरक्षा निकायबीच आपसी समन्वय, एकीकृत साझा धारणा निर्माण, आम समस्यालाई समाधान गर्न मानसिक रुपले तयार हुने, सुरक्षाको अवस्थालगायतका विषयमा गोष्ठीमा छलफल हुने बताइएको छ ।

गोष्ठीको उद्घाटन गर्दै गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सरकार गम्भीर रहेको बताए ।

निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न चुनौतिहरूको पहिचान र बर्गीकरण गरेर सूचनाको अवस्था तयार पार्न आवश्यक कार्ययोजना बनाउन उनले जोड दिए । “भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सुरक्षाको आवश्यक सम्पूर्ण तयारी भइरहेको छ,” उनले भने ।

बानियाँले मुलुकको पाँचवटै विकास क्षेत्रमा सुरक्षा गोष्ठी सञ्चालन हुने बताए । साथै सुरक्षा निकायसँग आपसी समन्वय, कर्मचारीको अधिकार र कर्तव्यबारे जानकारी गराउनका लागि गोष्ठीको आयोजना गरिएको बताए ।

गृहसचिव लोकदर्शन रेग्मीले मुलुक निर्वाचनको महाअभियानमा लागेको उच्च मनोबलका साथ कार्य गर्न निजामती र सुरक्षाकर्मीलाई आग्रह गरे ।

“सङ्घीय प्रणाली प्रतिफल यो स्थानीय तहको निर्वाचनबाट सुरू हुने भएकाले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन प्रतिबद्ध हुनुपर्छ,” रेग्मीले भने ।

पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको अध्यक्षतामा सुरू भएको गोष्ठीमा गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थी, नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मी तथा नेपाली सेनाका पूर्वाञ्चलका पृतनापति गोकुल भण्डारीको पनि गोष्ठीमा सहभागी छन् । रासस

प्रकाशित मिति : २५ चैत्र २०७३, शुक्रबार ००:००