११ चैत, बैतडी । भारतले सहमति नदिँदा महाकाली नदीमा झोलुङ्गे पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । पुल निर्माणका लागि ठेक्का सम्झौता भएको एकवर्षभन्दा बढी भइसक्दासमेत भारतले सहमति नदिँदा बैतडीको पञ्चेश्वरमा निर्माण हुने भनिएको झोलङ्गे पुलको निर्माण कार्य अघि नबढेको हो ।
महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएपछि खुशी भएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दा निरास भएका स्थानीय वीरेन्द्र महताले बताए ।
भारतीय बजारमा आवतजावत गर्दा डुंगाको जोखिमपूर्ण यात्रा अन्त्य हुने विश्वास गरे पनि पुल निर्माणको काम अहिलेसम्म अघि नबढ्दा स्थानीयवासी निराश भएको उनले जानकारी दिए । “डुंगाको जोखिमपूर्णयात्रा अन्त्य हुने आशामा थियौँ, तर भारत सरकारको ढिलासुस्तीले चिन्ता बढाएकोे छ,” उनले भने ।
स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलीडार)अन्तर्गतको झोलुङ्गे पुल डिभिजनले भारतसँग सीमा जोडिएको महाकाली नदीमा तीन वटा पुल निर्माणका लागि गत वर्ष नै ठेक्का सम्झौता गरेको थियो । दार्चुलाको लाली र तिग्रम तथा बैतडीको पञ्चेश्वरमा झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भए पनि पञ्चेश्वरमा भने काम नै शुरु हुन नसकेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
१ करोड ३३ लाख रुपैयाँ लागतमा १ सय २४ मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता भएको हो । पञ्चेश्वरमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि भारतको केन्द्रीय सरकारबाट नो अब्जेक्सन लेटर पाए पनि प्रान्तीय सरकारबाट सहमति आउन बाँकी रहेको झोलुङ्गे पुल डिभिजनका योजना प्रमुख गुरुप्रसाद शर्माले बताए । रासस


प्रतिक्रिया