११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहमा उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि जारी



९ चैत, काठमाडौं ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको अधिकार क्षेत्रभित्रको विकास निर्माण सञ्चालनका लागि उपभोक्ता समिति गठनसम्बन्धी कार्यविधि जारी गरेको छ ।

स्थानीय तहलाई उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन गर्न एवं स्थानीय कानून बनाउन नमूना कार्यविधि, २०७४ जारी गरिएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले जानकारी दिए ।

कार्यविधिमा उपभोक्ता समिति गठन, समितिका सदस्यको योग्यता, समितिको काम, कर्तव्य र अधिकार, आयोजना कार्यान्वयन, आयोजना सम्झौताका लागि आवश्यक कागजात, समितिको क्षमता विकास, खाता सञ्चालन र भुक्तानी प्रक्रिया, अनुगमन सम्बन्धी व्यवस्था, समितिको दायित्व जस्ता विषय समेटिएको उनले बताए ।

स्थानीय स्वायत्त शासन ऐन, २०५५ खारेज भएपछि आयोजना कार्यान्वयनलाई सहज बनाउन नेपालको संविधान, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नमूना कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ । कार्यविधि जारी भएपछि स्थानीय तहलाई जनसहभागिता एवं जनश्रमदान जुटाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ ।

नमूना कार्यविधि आजै सबै स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ । नमूना कार्यविधिका आधारमा मूल विषयलाई अन्तर नपारी स्थानीय तहले आफ्नो अनुकूलको विधि निर्माण गर्न सक्ने प्रवक्ता तामाङले बताए ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००