१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीको दबाब



९ चैत, चितवन ।
जिल्लाको कालिका नगरपालिका ९ कोलारमा रहेको चुनढुंगा खानी बन्द गर्न स्थानीयवासीले दबाब दिएका छन् । खानेपानी, सिँचाइका स्रोत नष्ट हुने र ऐतिहासिक महत्व बोकेको उपरदाङगढी धरापमा पर्ने भन्दै उनीहरुले बन्द गर्न दबाब दिएका हुन् ।

कालिका नगरपालिका ९ का वडाध्यक्ष हिमबहादुर क्षेत्रीले चुनढुंगा खानीले समग्र क्षेत्रमा प्रभाव हुने भन्दै स्थानीयवासीले विरोध जनाएको बताए । वडा भेलामा अधिकांशले खानी बन्द गर्न दबाब दिएका थिए । वडाध्यक्ष क्षेत्रीले स्थानीयवासीको भावना बुझेर सोको जानकारी नगरपालिकामा गराएको बताए ।

वडा भेलाले खानी बन्द गर्ने निर्णय गरेको स्थानीय प्रकाश थापाले बताए । नगरपालिकाद्वारा गठित खानी अनुगमन समितिका सदस्य समेत रहेका थापाले स्थानीयवासीको भावनाभन्दा बाहिर गएर नगरपालिका एवं अन्य निकायले निर्णय गर्न नहुने बताए ।

खानीका कारण जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी जोखिममा पर्ने, खानेपानी मुहान सुक्ने, सिँचाइको कुलो बन्द हुने, पहिरोका कारण स्थानीयवासीको जनधनको क्षति हुन सक्ने चिन्ता स्थानीयवासीको भएको थापाले बताए ।

नगरपालिकाका प्रमुख खुमनारायण गोपी श्रेष्ठले खानी सञ्चालनको इजाजत दिने अधिकार खानी विभागको भएकाले आफूहरुले रोक्न भने नीतिगत रुपमा नसक्ने बताए । उनले स्थानीयवासीको भावनालाई बुझेर अन्य स्रोत सम्पत्तिको क्षति नहुने गरी खानी सञ्चालन गर्नुपर्ने बताए ।

खानी सञ्चालन गरेको स्टारलाइन इण्डष्ट्रिज प्रालि काठमाडौंका प्रतिनिधि ईश्वरी मरासिनीले स्थानीयवासीलाई प्रभाव नपरोस् भन्नका लागि दुई करोड ५० लाख खर्च गरेर संरचनासमेत निर्माण गरिएको बताए ।

पहिरोको जोखिम भएका ठाउँमा तारजाली लगाएर संरक्षण गरिएको उनले बताए । स्थानीयवासीको अवरोधपछि दुई महिनादेखि खानी नियमित सञ्चालन हुन सकेको छैन ।
रासस

प्रकाशित मिति : ९ चैत्र २०७४, शुक्रबार ००:००