९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दरवाङ नदी नियन्त्रण आयोजनाको काम शुरु



८ चैत, बाबियाचौर– म्याग्दी ।
म्याग्दी नदीको कटानको चपेटामा परेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नदी नियन्त्रण आयोजनाको काम शुरु भएको छ । मालिका गाउँपालिकाले उपभोक्ता समितिमार्फत नदी कटान नियन्त्रणका लागि किनारमा पक्की पर्खाल निर्माण थालेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।

नदी नियन्त्रण योजनाका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले १५ लाख र ६ नं वडा कार्यालयले तीन लाख विनियोजन गरेको थियो । गाउँपालिका र वडाको १८ लाख अनुदान तथा उपभोक्ताको २ लाख बराबरको श्रमदानमा आयोजना पुरा गर्ने लक्ष्य छ ।

म्याग्दीको पश्चिमी क्षेत्रको व्यापारिक केन्द्र र दोस्रो सदरमुकामको रुपमा चिनिने दरवाङबजार उत्तरतर्फबाट नदीले वर्षेनी गर्दै आएको कटानका कारण जोखिममा परेको छ । जनप्रिय माविको खेलमैदान क्षेत्रमा नदी किनारमा पक्की पर्खाल निर्माण गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष गोपाल गौतमले जानकारी दिए ।

यस वर्ष विनियोजन भएको बजेटबाट ३८ मिटर लम्बाइको पर्खाल निर्माण गर्ने योजना छ । जगमा तीन मिटर चाक्लो पिसिसी ढलान गरेर पिरामिड शैलीमा कम्तीमा तीन मिटर चौडाइ र चार मिटर उचाइ भएको पर्खाल बनाइने भएको छ ।

पर्खाल निर्माणमा मजदूर परिचालन र जनश्रमदान गरेर नदी किनारको ढुङ्गा संकलन गरिएको छ । २ सय ५० घरधुरी बजारवासीले प्रतिघर एक दिनका लागि श्रमदान गर्ने भएका छन् । दुई मिटरभन्दा बढी लम्बाइको पर्खाल बनाउनुपर्ने भएकाले बजेट पर्याप्त नहुँदा योजना अधुरो रहने देखिएको अध्यक्ष गौतमले बताए ।
रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहिबार ००:००