६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झीँ–पाखापानी सडक विस्तार आयोजना शुरु



२८ फागुन, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिकाको झीँ–पाखापानी सडकलाई दुई लेनको बनाउन आयोजना शुरु भएको छ ।

रघुगंगा गाउँपालिकाले बेनी नगरपालिका १० पात्लेखेतको सिमानादेखि वडा नं ५ झीँ हुँदै ६ नं वडा पाखापानी जोड्ने फराकिलो बनाउन ७५ लाखको लागतमा आयोजनाको काम शुरु गरेको हो ।

झीँको सिमानादेखि पाखापानीको ठोकलाखोला सम्मको नौ किलोमिटर सडकलाई दश मिटर फराकिलो बनाउने, नाली, पर्खाल, सोलिङ र कजवे निर्माणका लागि दुई वटा प्याकेजमा छुट्टाछुट्टै आयोजना सञ्चालन गरिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

३५ लाख ४० हजारको लागतमा झीँ खण्डको पाँच किलोमिटर र ४० लाखको लागतमा पाखापानी खण्डको चार किलोमिटर १७५ मिटर सडक स्तरोन्नति गर्न उपभोक्ता समितिले काम तीव्र बनाएका छन् ।

पहिलो चरणमा डोजर प्रयोग गरेर फराकिलो र नाली बनाइएको सडकमा उपभोक्ताले श्रमदान गरेर सोलिङ, कजवे, ग्यावियन र रिटेनिङ वाल लगाउने काम गरिरहेको झीँ खण्डको उपभोक्ता समितिका अध्यक्ष गोविन्द पाइजाले बताए ।

उनका अनुसार साबिकका वडाका प्रत्येक घरधुरीलाई एक, एक दिनका लागि श्रमदानमा सहभागी बनाइएको छ । पाखापानीतर्फ झीँको सिमाना फुलडाँडादेखि झिगरुक, हुनचेन, पाखापानी, कमनाथ हुँदै ठोकलाखोला सम्मको सडक पहिलो चरणमा डोजर लगाएर फराकिलो र कुनातर्फ कच्ची नाली बनाउने काम सकिएको छ ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००