३० कार्तिक २०८३, सोमबार | Mon Nov 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्षति रोक्न विपद् व्यवस्थापनको तयारी शुरु

लेखक स्थानीय खबर २८ फाल्गुन २०७४, सोमबार २ मिनेट पढाइ

२८ फागुन, रत्ननगर– चितवन ।
चितवनमा स्थानीय निकायसँगको समन्वयमा बाढी, पहिरो लगायत विभिन्न घटनाबाट हुने क्षति रोक्न विपद् व्यवस्थापनको पूर्वतयारी शुरु भएको छ ।

जिल्लाको पहाडी क्षेत्र पहिरोको जोखिममा रहेको र तल्लो क्षेत्रका विभिन्न ठाउँ बाढीको उच्च जोखिममा रहेकाले जोखिम घटाउन पूर्व तयारी थालिएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले बताए ।

आइतबार विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी र स्थानीय तहका प्रमुखको सहभागितामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले चितवनका विभिन्न क्षेत्रमा विपद् व्यवस्थापनको क्लष्टर निर्माण गर्ने निर्णय गरेको प्रजिअ भट्टले जानकारी दिए ।

पूर्वी चितवन, भरतपुर र पश्चिम चितवनमा सम्भावित घटना रोक्न र भएका घटनाबाट क्षति न्यूनीकरणका लागि समन्वय गर्नेगरी तीन ठाउँमा क्लष्टर निर्माण गर्न लागिएको हो । चितवनको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले खोलानालामा आउने बाढीबाट वर्षेनी मानिसको मृत्यु हुने र धनजनको क्षति हुने गरेको भन्दै नदी नियन्त्रणका लागि ध्यानाकर्षण गराइन् ।

गर्मीको समय बढिरहेकाले आगलागीका घटनासमेत बढ्ने भन्दै यसतर्फ समितिले ध्यानाकर्षण गराएको छ । बैठकले हरेक महिनामा विपद् समितिको बैठक बसी पूर्व तयारीका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।

वरिष्ठ कृषि विकास अधिकृत सुधीर श्रेष्ठले कृषि विकास समितिमा पेश भएको बाढीपीडित र भूकम्प पीडित किसानका लागि आएको अनुदान कार्यक्रमबारे बैठकमा जानकारी गराएका थिए । सो प्रस्तावसमेत विपद् व्यवस्थापन समितिले अनुमोदन गरेको छ । बैठकमा नारायणगढ मुग्लिन सडकअन्तर्गत चितवनको जुगेडी र सिमलतालमा हुने विभिन्न दुर्घटनालाई ध्यानमा राखेर चार वटा स्टेचर, फोकस लाइट र ४०० मिटर डोरी आवश्यक रहेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले प्रस्ताव पेश गरेका थिए ।

नारायणी यातायात व्यवसायी संघका प्रतिनिधि शंकर गिरीले उक्त सामग्री खरिदका लागि आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बैठकमा हालसम्म भएका विपद् व्यवस्थापन कार्यको समीक्षा, नयाँ ऐन, विपद् व्यवस्थापनको काम, मन्त्रालयबाट आएको परिपत्र लगायतको विषयमा छलफल भएको थियो ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।