१४ माघ २०८२, मंगलबार | Tue Jan 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक बनेको आठ वर्षपछि दिक्तेल–खार्मी नियमित बस सेवा शुरु



२८ फागुन, खोटाङ ।
दिक्तेलबाट खार्मीसम्म नियमित बस सेवा शुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीमा खोटाङ यातायात व्यवसायी संघले आइतबार बाट नियमित बस सेवा शुरु गरेको हो ।

सडक मर्मत उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा खार्मीका स्थानीयवासीले बस र चालकलाई फूलमाला र अबिरले स्वागत गरेका थिए । दिक्तेलबाट १५ किलोमिटर टाढा पर्ने खार्मीका लागि नियमित बस सेवा जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले उद्घाटन गरेका हुन् ।

करीब आठ वर्षपहिले निर्माण गरिएको दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकको खार्मीसम्म मर्मत गरेपछि नियमित बस सेवा शुरु गरिएको मर्मत उपभोक्ता समितिका अध्यक्ष श्यामकुमार राईले जानकारी दिए ।

सडक मर्मतका लागि यस वर्ष नगरपालिकाले ४० लाख रकम छुट्याएको थियो । करीब चार घण्टा पैदल यात्रा गरेर पुगिने खार्मीमा दिक्तेल–खार्मी नियमित बस सेवा शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

दिक्तेल–खार्मी बस सेवा शुरु भएपछि खार्मीसंगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङ लगायतका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । नगरपालिकाको १५ वटा वडामध्ये खार्मीमा सबैभन्दा पछि यातायात सेवा शुरु भएको हो ।
रासस

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ००:००