२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी भकिम्लिका बासिन्दा द्वारा श्रमदान गरेर सडक स्तरोन्नति



२७ फागुन, बाबियाचौर– म्याग्दी ।
बेनी नगरपालिका ३ भकिम्लीका बासिन्दाले श्रमदान गरेर सडक स्तरोन्नति गरेका छन् । दूधेखोला–भकिम्ली सडक स्तरवृद्धिका लागि बेनी नगरपालिकाले सञ्चालन गरेको सो अभियान अन्तर्गत उपभोक्ताले ग्याबिन जाली लगाउने, निर्माण सामग्री ढुवानी र सडक ढलान गर्ने कामका लागि श्रमदान गरेका हुन् ।

घुम्ती सुधार गर्ने, फराकिलो बनाउने, ग्रेड मिलाउने लगायत काममा डोजर प्रयोग गरेपनि ग्याबिन पर्खाल लगाउने र ढलान गर्ने काममा श्रमदान गरिएको उपभोक्ता समितिका अध्यक्ष भानुभक्त थापाले जानकारी दिए । बेनी नगरपालिकाले २४ लाख १२ हजार बजेट विनियोजन गरेको छ । उपभोक्ताले ४ लाख २८ हजार बराबरको श्रमदान गरेका छन् ।

हल्लेगौंडा, चिनाखेत, डाँडाखानी, पानीस्वाँरा, कोप्रे र ज्यामिरेका बासिन्दाले प्रतिघरधुरी एक दिनका दरले श्रमदान गरेका छन् । सडक स्तरोन्नति गर्ने काम अन्तिम चरणमा पुगेको अध्यक्ष थापाले बताए ।

हल्लेगौंडाको भिरमा ८४ मिटर सडक ढलान गर्ने काम भइरहेको छ भने ५४ थान ग्याबिन जाली लगाइसकिएको छ । जनप्रतिनिधिको समन्वय, नियमित अनुगमन, उपभोक्ता समितिको सक्रियता र समुदायको जनसहभागितामा गत पुस १ गते सम्झौता भएको सो योजना निर्धारित समयमै सम्पन्न हुने वडाध्यक्ष पदम पुनले बताए ।

विसं २०६६ मा दूधेखोलादेखि हल्लेगौंडा, पानीस्वाँरा डाँडाखानी हुँदै डोले पु¥याइएको दूधेखोला भकिम्ली सडकको लम्बाइ १३ किलोमिटर छ । तत्कालीन जिविसको पाँच लाख, भकिम्ली गाविसको दश लाख र उपभोक्ताको नौ लाख लगानीमा ट्र्याक खोलिएको हो । बजेट अभावका कारण सडकको मर्मत हुनसकेको थिएन ।

महेन्द्र माविको भवन निर्माण

रघुगंगा गाउँपालिका ५ झिँस्थित महेन्द्र माविको नयाँ भवन निर्माण गरिएको छ । आन्तरिक स्रोत र समुदायको श्रमदान गरी ६४ लाखको लागतमा तीन तले छ कोठे पक्की भवन निर्माण गरिएको प्रधानाध्यापक याम गर्बुजाले जानकारी दिए ।

भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले ३२ लाख, साविक झिँ गाविसले १० लाख र रघुगंगा गाउँपालिकाले पाँच लाख उपलब्ध गराएका थिए । विद्यालयको आन्तरिक स्रोत र जनश्रमदान गरी १७ लाख लगानी भएको छ । विद्यालयमा २६० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार ००:००