७ श्रावण २०८१, सोमबार | Mon Jul 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा चार जिल्लाको जनजीवन प्रभावित



२७ फागुन, फलेवास– पर्वत ।

विगत ५ दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन कटौती गर्दा जनजीवन प्रभावित बनेको हो ।

दैनिक बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् नआउँदा यस क्षेत्रका उद्योग, कलकारखाना, व्यापार–व्यवसाय, सञ्चार माध्यम मारमा परेका छन् । यस क्षेत्रमा सञ्चालित दुग्धजन्य उद्योग, चाउमिन, दालमोठ लगायत १ दर्जनभन्दा बढी उद्योग समस्यामा परेका छन् ।

त्यस्तै झण्डै दुई दर्जनभन्दा बढी सञ्चार माध्यम प्रभावित भएका छन् । दैनिक दश घण्टाभन्दा बढी विद्युत् जाने भएकाले एफएम रेडियो र केबुल टेलिभिजन दिनभर बन्द गर्ने गरिएको छ । ‘लाइन बेलुका ५ बजे आउने भने पनि ७ बजेसम्म आउँदैन, त्यतिबेलासम्म ब्याट्री र जेनेरेटरले पनि धान्दैन’ त्यसैले बन्द गरेर बस्नुको विकल्प नभएको रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलले बताए ।

नेपाल विद्युत् प्राधिकरणले मोदी–पोखरा १३२ केभी प्रसारण लाइनअन्तर्गत टावर नं ३५ बदली गर्न नयाँ टावर फेर्नका लागि फागुन २३ गतेदेखि लगातार विद्युत् सेवा बन्द गरेको हो । सन् २००० मा मोदीखोला जलविद्युत् केन्द्र निर्माण गर्ने बेलामा बनाइएको उक्त टावर जीर्ण भएकाले अहिले परिवर्तन गर्नु परेको नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण शाखाका प्रमुख विजयराज रेग्मीले बताए । उनले भने, “शनिबार साँझदेखि नियमित विद्युत् दिने तयारी भए पनि वर्षाका कारण काम गर्न नसकेकाले लम्बिएको हो ।”

यो संगै गर्मीयाम लागेपछि यस क्षेत्रमा विद्युत् अनियमित हुने गरेको छ । खोलामा पानीको बहाबसमेत कम हुँदा उत्पादन घटेको छ भने हावाहुरीका कारण पटक पटक विद्युत् अवरुद्ध हुने गरेको छ । एक दिनमै पचासौँ पटक लाइन आउने जाने समस्याले झनै समस्या उत्पन्न हुने गरेको छ ।

टावर मर्मत संगै अन्य क्षेत्रका रूखबिरुवा काट्ने र लाइन समेत सफा गर्न वितरण शाखालाई निर्देशन दिएको प्रजिअ राजेश पन्थीले बताए । कुश्मामा सबस्टेसन समेत सञ्चालनमा आइसकेकाले पर्वतमा समस्या भए पनि अन्य जिल्लामा विद्युत् नियमित गर्ने र अन्य जिल्लामा समस्या भए पनि पर्वतमा नियमित गर्न सकिने भएकाले अबदेखि लामो समय विद्युत्मा समस्या नआउने पनि शाखा प्रमुख रेग्मीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २७ फाल्गुन २०७४, आइतबार ००:००