६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘एमालेलाई स्थानीय चुनाव सार्ने र टार्ने कुरा स्वीकार्य छैन’



प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काम महासचिव इश्वर पोखरलले स्थानीय चुनाव सार्ने र टार्ने कुरा स्वीकार्य नभएको बताएका छन् । काठमाडौंमा आयोजित काभ्रेको तेमाल गाउँपालिकाको चुनाव लक्षित कार्यक्रममा पोखरेलले एमाले स्थानीय निर्वाचनमा होमिएको बताए । स्थानीय निर्वाचन हुन नदिने शक्तिहरू सल्बलाई रहेको पोखरेलले बताए ।

“संविधान कार्यान्वयनप्रति एमाले पूर्ण जिम्मेवार छ । त्यसैले स्थानीय चुनावको विकल्प छैन,” पोखरले भने, “त्यसैले चुनाव सार्ने वा टार्ने कुरा एमालेलाई स्वीर्काय छैन । एमाले चुनावमा होमिसकेको छ ।”

चुनावमा उम्मेद्वार चयन गर्दा स्थानीय कार्यकर्ता र जनताको सुझावलाई गम्भीर रुपमा लिएर निर्णय गर्ने पनि पोखरेलले बताए । त्यहीअनुसार एमालेले उम्मेद्धार चयन गर्ने र पार्टीको बिरुद्ध कुनै कार्यकर्ताले गतिविधि गरे कारवाही गर्ने चेतावनीसमेत दिए ।

तामाङ बाहुल्य काभ्रेको तेमाल गाउँपालिकालाई लक्षित गर्दै पोखरेलले सबै जातजातिको भाषा नेपाली भाषा भएको तर हिन्दी नेपालीको भाषा नभएको जिकीर गरे । “तामाङ, गुरुङ, मैथिली, भोजपुरी, बज्जिका भाषा नेपाली भाषाहरू हुन् । यी भाषाहरू सरकारी कामकाजको भाषा हुनु गर्वको कुरा हो,” पोखरेलले भने, “तर हाम्रो तराईमा बोलिने मैथिली, भोजपुरीलगायतका भाषालाई दबाउने षडयन्त्रस्वरुप हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउन लागिएको छ । यो षडयन्त्र एमालेलाई कुनै हालतमा स्वीकार्य छैन ।”

स्थानीय तहको संख्या निर्धारण गर्दा र निर्वाचन क्षेत्र तोक्दा तराईमा धेरै संख्या पु¥याउन खोजेको भन्दै यसले भूगोलप्रति अन्याय हुने पोखरेलले बताए । जनसंख्या र भूगोललाई बराबरी महत्व दिनुपर्नेमा भूगोललाई अन्याय गरिएको पोखरेलको टिप्पणी थियो ।

“जनसंख्यालाई महत्व दिनु पर्छ । त्यो भन्दै गर्दा भूगोललाई बेवास्ता गर्नु पर्ने माग एकदमै गलत छ,” पोखरेलले भने, “छिमेकी मुलुक भारतमा उत्तर प्रदेश र बिहारमा ५० लाख मतदाताको पनि एकसांसद र पण्डिचेरीमा ५० हजार मतदाताको पनि एक सांसद हुने व्यवस्था छ ।”

एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्च र साविकका गाविसहरूमा रहेको युवा संघका कमिटिहरूले कार्यक्रमको आयोजना गरेको हो । एमाले काभ्रेका पूर्वअध्यक्ष गोकुल बाँस्कोटाले एमालेकै पहलमा ४९ करोड रुपैयाँ लागतमा बृहद तेमाल खानेपानी आयोजनाको निर्माण भइरहेको दाबी गरे । बैशाख ३१ गतेको स्थानीय चुनावलक्षित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि तेमाल क्षेत्रका करिब २ सय राजनीतिक कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७३, बिहिबार ००:००