१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पामा अव्यवस्थित सडक निर्माणले दुर्घटना बढे



१५ फागुन, रोल्पा ।
रोल्पामा अव्यवस्थित ढंगले निर्माण गरिएका ग्रामीण सडकमा सवारी दुर्घटना बढिरहेका छन् । सवारी दुर्घटना बढ्दै जाँदा वर्षेनी ठूलो मात्रामा धनजनको क्षतिसमेत हुँदै आएको छ ।

ग्रामीण सडकका रुपमा रहेका जिल्लाका भित्री सडक साँघुरा र अव्यवस्थित हुँदा दुर्घटना बढिरहेको बताइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७२/०७३ मा भएका २० वटा सवारी दुर्घटनामा ७ जनाको मृत्यु, १२ जना घाइते र २२ जना समान्य घाइते भएका थिए ।

यसैगरी, आव ०७३/७४ मा भएका ३६ वटा सवारी दुर्घटनामा ५ को मृत्यु, २७ जना घाइते र २७ जना सामान्य घाइते भएका थिए । चालू आवको फागुन १५ गतेसम्म भएका ८ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु, दुईजना घाइते र १० जना सामान्य घाइते भएका थिए ।

भित्री सडकमा ट्र्याक्टर दुर्घटनाको संख्या बढिरहेको देखिएको छ । ट्र्याक्टर दुर्घटनामा केही दिन अगाडि रोल्पाको ह्वामाका एक स्कूले विद्यार्थीको मृत्यु भएको थियो । बिहेको जन्ती बोकेको सो ट्र्याक्टर दुर्घटना हुँदा स्कूले बालकको मृत्यु हुनुका साथै जन्तीसमेत घाइते भएका थिए । यसैगरी, पूर्वी रोल्पाको सिर्पमा गत हप्ता भएको ट्र्याक्टर दुर्घटनामा समेत २ जनाको ज्यान गएको थियो ।

विद्यालय कक्षा सञ्चालन, चालकसँग एक मिनेट कार्यक्रम, चालकको व्यवहारबारे यात्रुसँग छलफल जस्ता कार्यक्रम सञ्चालन गरी दूर्घटना न्यूनीकरणको प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रहरी जवान दिवाकर ओलीले जानकारी दिए ।

जिल्लाका कालोपत्रे भएका मुख्य सडकमा दुर्घटनाको दर निकै कम रहेपनि भित्री र कच्ची सडकमा बढी मात्रामा दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाले बताएको छ ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००