५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हरेक सोमबार नारायणी नदी सफाइ अभियान, जनप्रतिनिधिले दिए साथ



१४ फागुन, चितवन ।
काठमाडौंको वाग्मतीजस्तो प्रदूषित बन्न नदिन यहाँका युवाले थालेको नारायणी नदी सरसफाइ अभियानमा स्थानीय र जनप्रतिनिधिले साथ दिएका छन् ।

अभियानमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, कार्यकारी अधिकृत प्रेमराज जोशी, महानगरपालिका–१ का अध्यक्ष जयराम श्रेष्ठ लगायत स्थानीय युवा, समाजसेवी र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

नारायणगढ बजार बन्द हुने हरेक सोमबार बिहान स्थानीय युवाले गत हप्ताबाट नारायणी नदी सरसफाइ अभियान थालेका थिए । हातमा पञ्जा लगाएर प्रमुख दाहाल, उपप्रमुख शाह लगायत उपस्थित सबै कुचोसहित सरसफाइमा जुटेका थिए ।

सरसफाइ कार्यक्रमपछि प्रमुख दाहालले नारायणी नदी किनारलाई सुन्दरस्थलका रुपमा विकास गर्ने महानगरपालिकाको योजना रहेको भन्दै आफूले कल्पना गरेको भन्दा बढी प्रदूषण नदी किनारमा पाएको बताइन् ।

उपप्रमुख शाहले दीर्घकालीन योजनाका साथ नदी र आसपासका क्षेत्रको प्रदूषण हटाएर सुन्दर र हराभरा नारायणी बनाइने बताइन् ।

नारायणी नदी आसपासका क्षेत्र पर्ने भरतपुर महानगरपालिका–१ का वडाध्यक्ष जयराम श्रेष्ठले नारायणगढको गौरीश्वर मन्दिरदेखि नारायणीको पुलसम्म आठ ठाउँमा सोझै ढल नारायणीमा मिसिएको बताए ।

चार ठाउँमा छुट्टै प्रशोधन गरेर पानी नारायणीमा फाल्ने गरिएको भए पनि ती ढलमा नमिसाई आठ ठाउँबाट भने सोझै नदीमा ढल मिसाएकाले नदी थप प्रदूषित बनेको बताए ।

गौरीश्वर मन्दिरको पछाडि र केही पश्चिम नारायणी प्राथमिक विद्यालयको पछाडि नदीमा देवघाट र त्योभन्दा माथिबाट बगाएर ल्याएका मानिसको अन्त्येटी गर्दा प्रयोग भएका कोइला, फालिएका कपडा, मरेका जीवजन्तु लगायतका फोहरले थप समस्या देखिएको उनले बताए ।

स्थानीय पुराना पत्रकार ईश्वर जोशीका अनुसार नदीमा पहिले पहिले घडियाल गोही, माछा जस्ता जलचर र चराचुरुङ्गी देखिने भए पनि प्रदूषण बढेपछि अहिले देखिन छाडेका छन् । अघिल्लो सोमबारदेखि शुरु भएको यो अभियान हरेक सोमबार बिहान गरिने उनले जानकारी दिए ।
रासस

प्रकाशित मिति : १४ फाल्गुन २०७४, सोमबार ००:००