९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै



कविता उपाध्याय
२४ माघ, लिबाङ– रोल्पा ।
जिल्ला ट्राफिक कार्यालय रोल्पाका अनुसार पछिल्ला दिनमा रोल्पामा सडक दुर्घटना न्यूनीकरण हुँदै गएको छ । विगतका वर्षमा भन्दा हाल जिल्लामा धेरै सवारी साधन सञ्चालनमा रहे पनि सडक दुर्घटनामा भने कमी आएको जिल्ला ट्राफिक कार्यालय रोल्पाका निमित्त प्रमुख प्रहरी हबल्दार शेरबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार कार्यालयले समय समयमा जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएपछि दुर्घटना न्यूनीकरण हुन थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक कार्यालयले यातायात व्यवसायी, बजार व्यवस्थापन समिति, जिल्लाका विभिन्न विद्यालय तथा अन्य सरोकारवाला निकायबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

बजार क्षेत्रभित्र जथाभावी अव्यवस्थित रुपमा पार्किङमा राखिएका सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्नका लागि निर्देशन दिँदै आएको पनि थापाले जानकारी दिए । तर अव्यवस्थित पार्किङ भने पूर्ण रुपमा व्यवस्थित हुन नसकेको उनको गुनासो छ । यसरी सडक बाटोमै सवारी साधन पार्किङ गर्दा सडक दुर्घटना हुनसक्ने भएको हुँदा यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्नेमा उनको जोड छ ।

यस्तै, सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रोल्पाको माडिचौरदेखि ल्वामपूजासम्म यसै वर्ष मात्र २३ वटा सचेतनामूलक होडिङ बोर्ड राखिएको छ । ट्राफिक नियमका बारेमा नजानेका तर साक्षर व्यक्तिलाई होडिङ बोर्डले केही सचेत बनाउने पैदल यात्रु प्रकाश मगरले बताए ।

यसका साथै जिल्लाका विभिन्न विद्यालयमा ट्राफिक कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै ट्राफिक नियमसम्बन्धी विभिन्न किसिमका पर्चा–पम्प्लेटहरु वितरण गर्दै आएको छ ।

विद्यालयमा सञ्चालन भएका यस किसिमका कार्यक्रमले विद्यार्थीलाई सडक बाटोमा कसरी हिँड्ने, गाडी चलिरहेका बेला कसरी बाटो काट्ने तथा बाटोमा हिँड्दा सडकको कुन दिशाबाट हिँड्ने भन्ने बारेमा जानकारी भएको होलिभिजन आवासीय माध्यमिक विद्यालय लिबाङ रोल्पामा अध्ययनरत छात्र अर्चितबाबु मर्सिफुलले बताए ।

यसैगरी गतः वर्षदेखि जिल्लामा सञ्चालनमा आएका अटो व्यवसायी तथा यातायात प्रतिनिधिका बीच सवारी साधन तीव्रगतिमा नचलाउन, सिटको क्षमताभन्दा बढी यात्रु नबोक्न, तथा तोकिएको निश्चित रुटभन्दा बाहिर अटो रिक्सा सञ्चालन नगर्नका लागि जानकारी दिने उद्देश्यले ट्राफिक कार्यालयले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको अटो व्यवसायीले बताएका छन् ।

यस्तै, ट्र्याक्टरको पछाडि ट्रलीमा ब्रेक लाइट नहुने हुँदा दुर्घटना हुन सक्ने भन्दै जिल्लाका करिब ४७ वटा ट्र्याक्टरमा स्टिकर टाँसिएको छ । यसरी ट्र्याक्टरमा पछाडि स्टिकर टाँसिएमा अन्य सवारी चालकलाई यात्राका क्रममा सहज हुने ट्र्याक्टर व्यवसायीले बताए ।

सवारी दुर्घटनाका लागि जिल्ला ट्राफिक कार्यालय रोल्पाले सार्वजनिक भाडाका सवारी साधनमा ‘एक मिनेट कार्यक्रम’ सञ्चालन गरी सवारी चालक, परिचालक तथा यात्रुका बीचमा दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक छलफल कार्यक्रम सञ्चालन गर्दै आएको छ भने दिनहुँ सवारी चालकले मापसे गरे नगरेको चेकजाँचसमेत गर्दै आएको छ ।

यसरी दिनहुँजसो चेकजाँच तथा ट्राफिक नियमका बारेमा जानकारी गराइरहँदा चालक तथा सहचालकलाई मात्र नभई यात्रुलाई पनि विभिन्न कुरामा जानकारी हुने यात्रु नर्मदा गौतमले बताइन् ।

जिल्ला ट्राफिक कार्यालय रोल्पाका प्रहरी जवान दिवाकर वलीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा जिल्लामा सञ्चालनमा रहेका बस, जिप, ट्रक, कार, भ्यान, मोटरसाइकल र ट्र्याक्टर गरी १९ वटा सवारी साधन दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते भएका थिए भने २५ जना सामान्य घाइते भएका थिए ।

यस्तै २०७२/७३ को तथ्यांकअनुसार २० वटा सवारी साधन दुर्घटनामा परी सातको मृत्यु, १२ जना घाइते भए भने २२ जना सामान्य घाइते भएका थिए ।

यसैगरी, २०७३/७४ मा ३६ वटा सवारी साधन दुर्घटना ग्रस्त भएकामा ५ को मृत्यु, २७ घाइते भए भने २७ जना सामान्य घाइते भएका थिए । यसरी आव २०७४/७५ मा आइपुग्दा ७ वटा सवारी साधन दुर्घटना भएकामा हालसम्म १ जनाको मात्र मृत्यु र दुईजना घाइते भए भने अन्य १० जना भने सामान्य घाइते मात्र भएका थिए ।
रासस

प्रकाशित मिति : २४ माघ २०७४, बुधबार ००:००