१३ माघ, इलाम । माङ्सेबुङ गाउँपालिकाले शिक्षा र बालबालिकाको क्षेत्रमा ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाको पहिलो गाउँसभाले विद्यालय सुधार कार्यक्रम र बालबालिकाको क्षेत्रमा बजेट विनियोजन गरेको हो ।
गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले एसइइ कक्षा सञ्चालन, अंग्रेजी माध्ययमा कक्षा सञ्चालनका लागि प्रोत्साहन, धार्मिक विद्यालयलाई अनुदान, विद्यालय दिवा खाजा र बालबालिकाका क्षेत्रका अन्य कार्यक्रमका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।
महेन्द्रोदय मावि गजुरमुखी, इभाङ मावि इभाङ, चिसोपानी मावि बाँझो, जीवनज्योति मावि चतुरे, दुर्गा मावि आदिपुरे, सरस्वती मावि भालुटार र विद्या सिर्जनात्मक माविलाई १/१ लाख रुपैयाँ विनियोजन गरिएको छ । उक्त बजेटले एसइइ परीक्षा तयारी गरिने विद्यालयहरूले जनाएका छन् ।
त्यस्तै गरी तीन विद्यालयलाई अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्नका लागि १ एक लाख रुपैयाँका दरले विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराजा पौडेलले बताए । धार्मिक अनुदानतर्फ किराँत साम्जिक मुन्धुम वेदशालाका लागि १ एक लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएको छ । विद्यालय सुधार तथा मर्मत कार्यक्रममा यहाँका २४ वटा विद्यालयलाई १७ लाख ८० हजार रुपैयाँ छुट्ट्याइएको छ ।
छात्रवृत्ति पाउनबाट वञ्चित
फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका निखिल लिम्बू अपांगता भएका बालक हुन् । सानै उमेरमा ओठमा घाउ भएको छ । उनको तल्लो ओठमा ठूलो घाउ र जिब्रो सुन्निएको छ । उनको अपांगता परिचयपत्र नहुँदा छात्रवृत्तिबाट उनी वञ्चित छन् । घरपरिवार र विद्यालयले परिचयपत्र बनाउन पहल नगर्दा छात्रवृत्ति पाउनबाट वञ्चित भएका हुन् ।
फाकफोकथुम गापा–३ की मनिषा अधिकारी पनि परिचयपत्र नहुँदा छात्रवृत्ति पाउनबाट वञ्चित छिन् । तीन चार वर्षअघिदेखि दाहिने खुट्टामा समस्या भएपछि अपांगता भएकी मनिषाको परिचयपत्र बनाउन कसैले पहल गरेको थिएन । जनचेतनाको अभाव र सरल पहुँच नहुँदा धेरै विद्यार्थी परिचयपत्र नहुँदा जिल्ला शिक्षा कार्यालयले प्रदान गर्ने छात्रवृत्ति पाउनबाट वञ्चित हुनुपरेको छ ।
चालु शैक्षिक सत्रका लागि २५० विद्यार्थीका लागि रु ४६ लाख ४१ हजार विनियोजन गरिएको छ । कार्यालयमार्फत पहिलो चौमासिकमा ८३ बालबालिकाले छात्रवृत्ति पाइसकेका छन् । दोस्रो चौमासिकमा छात्रवृत्तिका लागि ४० जनाले मात्र निवेदन दिएको जिल्ला शिक्षा कायाृलय इलाम योजना शाखाका निर्मल ढुंगेलले जानकारी दिए । अझै पनि जिल्लामा १ सय २७ जनाका लागि छात्रवृत्ति रकम बाँकी छ ।
दुर्गम क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत अपांगता भएका करीब २ सयभन्दा बढी विद्यार्थी परिचयपत्र नभएकै कारण छात्रवृत्तिबाट वञ्चित हुने गरेको शिक्षा कार्यालयले जनाएको छ । कतिपयलाई छात्रवृत्तिका विषयमा जानकारी नहुने र जानकारी भए पनि सोझै अभिभावकको हातसम्म नपुग्ने हुँदा पनि परिचयपत्र बनाउन अभिभावकले चासो नदिएको हुन सक्ने शिक्षा कार्यालयका लेखाजोखा केन्द्रका प्रमुख प्रकाश चापागाईं बताउँछन् ।
छात्रवृत्तिका लागि अपांगता परिचयपत्र अनिवार्य गरेपछि परिचयपत्र नभएकाहरुको अघिल्लो बर्ष १७ लाख ६४ हजार र गत आवमा ठूलो रकम फ्रिज भएको शिक्षा कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया