१० माघ, काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा नं १० का विभिन्न ठाउँमा बुधबारदेखि सीसी क्यामेरा राखेको छ । बुधबार आयोजित कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ती सीसी टिभीको उद्घाटन गरेका छन् । वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको छ ।
महानगरको १० नं. वडा मैतीदेवीको सेतोपुलदेखि शङ्खमुलसम्म पर्छ । वडा कार्यालय रत्नराज्य विद्यालय नजिक छ । साेही अबसरमा शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै महानगरको सबै ठाउँमा क्यामेरा जडान गर्ने बताए ।
एक महिनाअघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि आजदेखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको उक्त वडाका वडाध्यक्ष रामकुमार केसीले बताए ।
केसीले वडाका चार स्थानमा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिएको र अन्य केही स्थानमा पनि राख्ने तयारी भइरहेको जानकारी दिए । क्यामरा जडानपछि दिउँसोका साथै रातिको समयमा घट्ने चोरी, सडक दुर्घटना, महिलामाथि हुने नकारात्मक व्यवहार जस्ता घटनामा कमी आउने दाबी केसीको छ ।
रासस


प्रतिक्रिया