१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुरे क्षेत्रमा चोरी–शिकारी रोक्न जनप्रतिनिधिको चासो



१० माघ, कञ्चनपुर ।
कञ्चनपुरको चुरे क्षेत्रमा चोरी–शिकारी बढ्न थालेपछि जनप्रतिनिधिले रोक्नका लागि सक्रियता बढाएका छन् । चोरी–शिकारी रोक्नका लागि शुक्लाफाँटा नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिले चासो देखाएको हो ।

चोरी–शिकारीमा संलग्न समूहले हतियारसहित लोपोन्मुख प्रजातिका जनावर मार्न थालेको जानकारी आएपछि समितिका पदाधिकारीले सरोकारवाला निकायलाई नियन्त्रणका लागि आग्रह गरेका छन् ।

“चोरी–शिकारीमा संलग्न व्यक्तिहरुलाई चोरी–शिकारी गर्न प्रयोग गर्दै आएको बन्दुक लगायतका हतियार इलाका प्रहरी कार्यालयमा बुझाउन सात दिनको म्याद दिएका छौँ,” वन वातावरण तथा विपद् व्यवस्थापन समितिका पदाधिकारी एवं वडा नं ८ का अध्यक्ष बहादुर महराले भने ।

सात दिनभित्र हतियार नबुझाए चोरी–शिकारी गर्ने समूहको पहिचान गरी प्रचलित कानूनबमोजिम हँदैसम्मको कार्वाही गरिने उनले बताए । चोरी–शिकारीमा संलग्नको पहिचान गर्नका लागि वन कार्यालय, इलाका प्रहरी कार्यालय, सामुदायिक वन र स्थानीय क्लबको सहयोग लिइने बताइएको छ ।

चोरी–शिकारीमा संलग्नले बँदेल, मृग लगायतका जनावरको शिकार गरी अवैधरुपमा असुरक्षित मासु नजिकका बजारका होटलमा लगेर बेच्ने गरेका छन् । बाघ, चितुवा, भालु लगायतको छाला निकाली तस्करीको कार्यसमेत हुने गरेको बताइएको छ । अवाञ्छित कार्यमा संलग्न समूहमा हिँड्ने र शिकार गर्नका लागि जंगलमै बास पनि बस्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।

चुरे क्षेत्रमा पर्ने आधा दर्जनभन्दा बढी सामुदायिक वनका पदाधिकारीसमेत वन्यजन्तुलाई चोरी–शिकारीबाट जोगाउनका लागि सामूहिक गस्तीको कार्यमा जुटेका छन् । रात्रि र दिउँसो गरी वन क्षेत्रमा गस्तीको कार्य गरेपनि हालसम्म चोरी–शिकारीमा संलग्नलाई भेटाउन नसकेको सामुदायिक वनको संरक्षणमा संलग्न लालबहादुर महराले बताए ।

“संरक्षणकर्मीको गस्ती एक वनमा जाँदा चोरी–शिकारीमा संलग्न चाल पाएर अर्को वनमा छिर्ने गरेकाले पक्रन सकेका छैनौँ,” उनले भने ।
रासस

प्रकाशित मिति : १० माघ २०७४, बुधबार ००:००