१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलजला गाउँपलिकाको बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान



८ माघ, बाबियाचौर । म्याग्दीको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘एक बगैँचा एक पोखरी’ अभियान सञ्चालन भएको छ । सुन्तलाको पकेट क्षेत्र बाँसखर्कका कृषकहरूले सिँचाइ सुविधाका लागि प्रत्येक बगँैचामा पोखरी र गोठमा भकारो सुधार अभियान सञ्चालन गरेका छन् ।

कृषकले खानेपानी आयोजनाको धाराको पानी प्लास्टिकको पोखरीमा संकलन गरेर बगैँचामा सिँचाइ गर्न पोखरी निर्माण अभियान सञ्चालन गरेका हुन् । साथै, सुन्तलामा देखिने रोग निबारणका लागी गाईभैँसीको गहुँत प्रयोग गर्न थालिएको छ । गुणस्तरीय प्राङ्गारिक मल आपूर्ति गर्न भकारो सुधार अभियान चलाइएको बाँसखर्क बजारमारे सुन्तला उत्पादन सहकारी संस्थाका अध्यक्ष जगतबहादुर खत्रीले बताए ।

सहकारीको नेतृत्वमा हालसम्म करिब १० वटा पोखरी निर्माण गरिएको छ । गत वर्ष सबै बगैँचामा हिलटेक ड्रममा पानी संकलन गरेर सिँचाइ गर्ने अभ्यास गरिएको थियो । ड्रमको पानीले पर्याप्त नभएपछि १० हजार लिटर क्षमताको पोखरी बनाएर त्यसमा रातिको समयमा पानी संकलन गरी दिउँसो सिँचाइ गर्न थालिएको छ ।

२ सय ६१ घरघुरी रहेको बाँसखर्कमा करिब २ सय धुरीले १ सय ५० हेक्टर पाखोबारी र खेतमा सुन्तला खेती गरेका छन् । बाँसखर्कमा केही वर्षयता सुन्तलाको नयाँ बिरुवा र बगैँचा थपिने क्रम बढे पनि सिँचाइको व्यवस्था हुन सकेको थिएन । पुसदेखि जेठसम्म सुन्तलाको बगैँचामा सिँचाइ गर्न समस्या हुने गरेको कृषक नरबहादुर खत्रीले बताए ।

सुन्तला खेतीलाई सुख्खायाममा नियमित सिँचाइको आवश्यकता पर्छ । सिँचाइका लागि म्याग्दी र पर्वतको सिमानामा पर्ने महभीरको पुम्दी खोलाबाट पाइपमा पानी ल्याउनु पर्ने कृषकहरूको माग छ । पश्चिम फर्किएको बाँसखर्कको हावापानी र भूगोल सुन्तला खेतीका लागि अनुकूल छ भने यहाँको सुन्तला यस क्षेत्रकै उत्कृष्ट मानिन्छ ।

बाँसखर्कबासीकाे मुख्य आयस्रोत सुन्तला खेती बनेको कृषक नन्दबहादुर खत्री बताउँछन् । कृषकले कोदो, धान, मकै र गहुँ खेती हुने खेतबारीमा सुन्तला खेती गरेका छन् । सुन्तला खेतीले बाँसखर्कको कृषकको जीवनस्तरमा सुधार ल्याएको छ । यहाँका कृषकले वार्षिक २ करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गर्दै आएका छन् ।

एउटै घरधुरीले सुन्तला बेचेर बार्षिक १ लाखदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । बढी मूल्य पाउने समयमा मात्र कृषकले सुन्तला बिक्रीका लागि बजार पठाउने गर्छन् । गाउँबाटै प्रतिकिलो न्यूनतम रु १०० मा सुन्तला बिक्री हुने गरको कृषक शिव खत्रीले बताए । रासस

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार ००:००