५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालगोपालेश्वर मन्दिरको काम अवरुद्ध



३ माघ, काठमाडौँ ।
रानीपोखरी पुनःनिर्माणमा विवाद आएर काम रोकिएसंगै बीचको बालगोपालेश्वर मन्दिरको काम पनि स्थगित भएको छ ।

रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर पुरातत्व विभागले निर्माण गराएको थियो । रानीपोखरी भने काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गरिरहेको थियो । बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि शुरुमा महानगरपालिकाले नै गरेकामा आधुनिक निर्माण सामग्री सिमेन्ट, रडलगायत प्रयोग गरेको भन्दै भत्काइएको थियो ।

पुस ११ गते महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठबीच रानीपोखरीको सौन्दर्यीकरणका विषयमा विवाद भएको थियो । विवादपछि सरोकार भएका निकायले काम रोक्न निर्देशन दिएका थिए ।

हाल रानीपोखरीको पुनःनिर्माणका सम्बन्धमा के गर्ने भनी अध्ययन गर्न विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ ।

कार्यदलले रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरको पुनःनिर्माण पनि प्रतिवेदन नदिएसम्म रोक्न निर्देशन दिएकाले काम नगरेको विभागका पुरातत्व अधिकृत एवं सूचना अधिकारी दामोदर गौतमले जानकारी दिए ।

“विसं १७२७ मा प्रताप मल्लले शिखर शैलीमा निर्माण गरेको मन्दिरलाई बेलायत यात्राबाट फर्केपछि जंगबहादुर राणाले विसं १९०७ मा मुगल शैलीमा परिवर्तन गरेका थिए, रानीपोखरीको विवादसंगै बालगोपालेश्वर मन्दिर पनि कुन शैलीमा बनाउने भन्ने टुंगो लगाउन कार्यदलले रोक्नु भनेकाले अहिले काम स्थगित छ” उनले भने ।

विभागले २०७३ साल भदौ १२ गते पुरातात्विक मापदण्डबमोजिम मन्दिर पुनःनिर्माण गर्न महानगरपालिकालाई पत्राचार गरेको थियो । महानगरले मापदण्डअनुसार पुनःनिर्माण नगरेपछि विभागले भदौ २७ गते प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत भएका निर्माण हटाई काम गर्न पत्र लेखेको थियो ।

विसं २०७३ कात्तिक ३ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा भएको सरोकार भएका निकायको बैठकले बालगोपालेश्वर मन्दिर विभागले नै बनाउने निर्णय गरेको हो । विभागले २०७४ साल वैशाख ५ गते कँडेल÷राम जेभी निर्माण व्यवसायी कम्पनीसंग सम्झौता गरी मन्दिर पुनःनिर्माण शुरु गरेको थियो । सम्झौताबमोजिम मन्दिरको लागत १ करोड ४० लाख छ ।

विसं २०७५ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण सक्ने सम्झौता भए पनि काममा अवरोध भएकाले नसकिने संकेत देखिएको छ ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००