११ जेष्ठ २०८१, शुक्रबार | Sat May 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमा सिँचाइ सुविधा पुगेपछि कृषकलाई राहत



३ माघ, रामपुर— पाल्पा ।
वर्षौंदेखि बाँझिएका जमिनमा सिँचाइ सुविधा पुगेपछि रामपुर नगरपालिका–१० हेक्लाङ क्षेत्रका १२८ घरधुरी लाभान्वित भएका छन् । पर्याप्त जमिन हुँदाहुँदै पनि सिँचाइ सुविधा नहुँदा निराश बनेका यहाँका कृषकलाई अहिले सिँचाइका कारण राहत मिलेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत मकै पकेट क्षेत्र कार्यक्रमको साना सिँचाइ आयोजनाबाट कुलो निर्माण तथा मर्मत गरिएको हो ।

यहाँ बराहदेवी खायन मकै पकेट क्षेत्र खेतखण्ड र दुर्गादेवी मन्दिर खायन बारीखण्ड गरी दुईवटा पकेट क्षेत्रमा करिब ४०० रोपनी क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनमा छ । “कुलो पक्की नहुँदा मुहानदेखि नै पानी ल्याउन सकिएको थिएन, गत वर्ष सिँचाइ आयोजनाको काम शुरु भएपछि अहिले बाँझिएका खेतबारीमा सिँचाइ गर्न सहज भएको छ,” खेतखण्डका सचिव ऋषिराम भण्डारीले भने ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ४ लाख ४० हजार अनुदान तथा स्थानीयवासीको श्रमदानमा खेतखण्ड र बारीखण्डमा एकैसाथ साना सिँचाइ आयोजना निर्माण गरिएको हो । खेतखण्डमा ७७ घरधुरी र बारीखण्डमा ५१ घरधुरी सिँचाइ आयोजनाबाट लाभान्वित बनेका छन् ।

खण्डहरमा परिणत भएका जमिनमा सिँचाइ सुविधा पुगेपछि कृषकले खाद्यान्न तथा तरकारी खेती शुरु गरेको बारीखण्डका सचिव लिलानाथ भण्डारीले बताए ।

मकै पकेट क्षेत्र छनोट गरेर उत्पादन वृद्धि गराउन कृषि शाखा रामपुर र कृषकको समन्वयमा निर्माण गरिएको साना सिँचाइ आयोजनाको काम पहिलो वर्षमा नै लक्ष्यभन्दा बढी प्रभावकारी बन्न सफल भएको कृषि शाखा रामपुरका प्रमुख रामहरि पाण्डेले बताए ।

जमिन सिञ्चित हुन थालेपछि यहाँका कृषकले व्यावसायिक तवरले कृषि कार्य गर्न थालेका छन् । साना सिँचाइ आयोजनाले व्यावसायिक कृषितर्फ कृषकको आकर्षण बढ्दै गएको छ ।

रामपुरका बोटे कृषिमा आकर्षित

रामपुरका बोटे समुदाय कृषि कार्यतर्फ आकर्षित हुँदै गएका छन् । कालीगण्डकीका विभिन्न घाटमा पुर्खादेखि गर्दै आएको डुंगा चलाउने, माछा मार्ने पेशा खोसिएपछि अहिले उखुखेती, तरकारी खेती, कुखुरापालन, बाख्रापालन लगायत व्यवसायतर्फ सक्रिय हुँदै गएका हुन् ।

बोटे समुदायको ठूलो बस्ती रहेको रामपुर नगरपालिका–३ गण्डकीढिकका सबैजसो बोटे कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर साँझ बिहान हातमुख जोर्ने गर्थे । नदीका विभिन्न घाटमा पुल बनेसंगै पेशा खोसिन पुगेपछि उनीहरु कृषि कार्यमा लागेका हुन् ।

डुंगा चलाउन नपाएपछि बुद्धबहादुर बोटे व्यावसायिक उखुखेतीमा आबद्ध भएका छन् । उनले डेढ रोपनी जग्गामा उखु लगाएर वर्षमा डेढ लाखसम्म कमाइ गर्दै आएका छन् । “बाउबाजेको पालादेखि गर्दै आइरहेको डुंगा चलाउने पेशा खोसियो, अब बाँच्नकै लागि केही न केही गर्नुप¥यो भनेर घरमै बसेर उखुखेती गरिरहेको छु,” उनले भने । बोटेले छिमेकीको जग्गा भाडामा लिएर उखुखेती गरेका हुन् ।

फुलमाया बोटेले पनि घरायसी कामकाजसँगै दुई चार पैसा आम्दानीका लागि उखु लगाउन थालेकी छन् । उनी भन्छिन्, “पहिला श्रीमान्ले कालीगण्डकीमा डुंगा चलाउने गर्नुहुन्थ्यो, डुंगा तारेबापतको ज्याला लिन दिनभर गाउँ गाउँ पुगेर धान, चामल, भटमास, मकै लिएर साँझ घर आएर त्यसैबाट हातमुख जोर्ने गर्थ्याैँ,” उनले भनिन् ।

“अहिले पेशा नै बन्द भयो, छोराछोरीको पढाइ खर्च, लालनपालन घर व्यवहार चलाउन धान, मकै, गहुँ लगाएर मात्र गाह्रो प¥यो, त्यसपछि दुई चार पैसा आम्दानीका लागि तरकारी, उखु लगाउन थालेकी हुँ,” उनले भनिन् ।

आर्थिक उपार्जनका निम्ति यहाँ रहेका झण्डै ३६ घरधुरी बोटे समुदाय कृषि कार्यमा निर्भर हुँदै गएका छन् । बाँझो जग्गा सिँचाइका लागि रामपुर नहर सञ्चालनमा आएपछि धान, गहुँ, मकै, तरकारी बाली लगाउन सजिलो भएको खिमबहादुर बोटेले बताए ।

एकाएक डुंगा चलाउने पेशा बाट विस्थापित हुँदा निराश बनेका यहाँका बोटे समुदाय बालबच्चाको शैक्षिक क्षेत्रमा पनि कृषि कार्यबाट भविष्य अगाडि बढाउन लागेका छन् । पहिले पहिले प्रयोगमा नआउँदा बाँझिएका बोटे गाउँका जग्गाहरु डुंगा चलाउने पेशा कालीगण्डकीमा विस्थापित भएपछि अहिले सदुपयोगमा आउन थालेको स्थानीयवासी गोविन्द्रप्रसाद दुवाडी बताउछन् । डुंगा चलाउने कार्य हराएपछि बोटे समुदायको जीवनशैलीमा पनि परिवर्तन आउन थालेको स्थानीयवासीको भनाइ छ ।
रासस

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार ००:००