६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–जोमसोम सडक कालोपत्रे गरिने



३० पुस, बाबियाचौर म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक कालोपत्रे हुने भएको छ । चार नं. प्रदेशको जीवनरेखा कालीगण्डकी कोरीडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालोपत्रे गर्ने तयारी भएको जनाएको छ ।

आयोजनाका इञ्जिनीयर प्रदीप निरौलाले कालोपत्रे गर्न पूर्वाधार निर्माणको काम तीव्ररुपमा अघि बढेको जानकारी दिए । बेनी–घाँसा खण्डमा डिबीएसडी र घाँसा–जोमसोम खण्डमा असपाल्ट प्रविधिको कालोपत्रे गरिने भएको छ । नालीसहित ११ मि चौडाइ रहने दुई लेनको सडकको ७ मिटर चौडाइमा कालोपत्रे गरिने निरौलाले बताए ।

विसं २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ११ मिटर फराकिलो २ लेनको कालोपत्रेका साथै विभिन्न ठाउँका बेलीब्रिजलाई विस्थापन गरेर मोटर जाने पक्की पुल निर्माण गरिने आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले बताए ।

चार खण्डमा स्तरवृद्धिको काम गर्न विभिन्न निर्माण कम्पनीसँग २ अर्ब ५० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । चिसाका कारण १ सय १० किमीको जोमसोम–कोरला खण्डको काम रोकिए पनि म्याग्दी खण्डमा सडक फराकिलो बनाउने काम तीव्र रुपमा अघि बढेको छ ।

निर्माण कम्पनी शर्मा गजुरमुखी जेभीका प्रतिनिधि सचिन क्षेत्रीले ११ डोजर र १ हजार मजदुर परिचालन गरेर चार ठाउँमा सडक फराकिलो बनाउने काम भइहेको बताए । बैसरी, दुवाडी, दाना, तितर र काभ्रेभीर क्षेत्रमा सडक फराकिलो बनाउन पर्खाल लगाउने र भित्तातर्फको पहाड फुटाउने काम भइरहेको छ ।

लेतेदेखि माथिको क्षेत्रमा डाइभर्सन गरेर सवारी सञ्चालनको व्यवस्था गरिए पनि म्याग्दी खण्डको सडक साँघुरो भएकाले सवारी आवतजावत भइरहेको अवस्थामा काम गर्न कठिनाइ भएको क्षेत्रीले बताए । अक्करे भीर र कमजोर भूगोलका कारण म्याग्दी खण्डको सडक विस्तारमा जोखिमसमेत उत्तिकै छ । पहाड फुटाउनका ३ सय ५ पीएल क्षमताको स्काभेटर ल्याइएको छ ।

मजदूरले शरीरमा डोरी बाँधेर भीरमा काम गरिरहेका छन् । कालोपत्रे भएपछि कोरला नाका सञ्चालन गर्न वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने तथा कालीगण्डकी र आसपासका नदीमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : ३० पुस २०७४, आइतबार ००:००