११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बजेट कटौती भएपछि सडक आयोजना अलपत्र



२६ पुस, बाबियाचौर । बजेट कटौती भएपछि म्याग्दीका ६ वटा ग्रामीण सडकको निर्माण कार्य अलपत्र परेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३/७४ मा बजार केन्द्र तथा पर्यटकीय महत्वका सडक कार्यक्रमअन्तर्गत सञ्चालित आयोजना अलपत्र परेको हो ।

दरवाङ–देवीस्थान–धारापानी–ताकम–ढोरपाटन सडकअन्तर्गत पुरानो सडक स्तरवृद्धिका लागि र मुनादेखि मार्ग खोल्न दुई वटा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको थियो । यसैगरि बिमको अर्गला हुँदै मराङ–मल्कबाङ–कुइनेको नयाँ मार्ग निर्माण, पोखरेबगर–घार–शिख स्तरवृद्धि, रत्नेचौर–भकुण्डे–भकिम्ली, अर्थुङ्गे–पुलाचौर–कुहुँ सडक आयोजना अलपत्र परेको हो । काम पुरा नहुँदै बजेट कटौती भएपछि ती सबै आयोजना अलपत्र परेका हुन् ।

ती सबै सडक आयोजना निर्माण गर्न विभिन्न निर्माण कम्पनीसँग ७ करोड रुपैयाँमा निर्माण सम्झौतासमेत भएको थियो । बर्षान्तमा काम पूरा नहुँदा लक्ष्यअनुसार सबै बजेट खर्च हुन सकेको थिएन । चालू आवमा अर्थ मन्त्रालयले बजार केन्द्र जोड्ने पर्यटकीय महत्वका सडक शीर्षकको कार्यक्रममा बजेट विनियोजन नगरेकाले काम गर्न नसकिएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख इञ्जिनियर थानेश्वर खत्रीले बताए ।

योजनाले पूर्णता नपाउँदा सडकको अवस्था लथालिङ्ग बनेको छ । सडक फराकिलो बनाउन भित्ता खनिएपछि कतिपय ठाउँका बस्तीसमेत जोखिममा परेका छन् । डिभिजनले सुरू गरेको कामले पूर्णता नपाउँदा स्थानीय तह र अन्य आयोजनाले काम अघि बढाउन सकेका छैनन् ।

सडक डिभिजन योजनाले निरन्तरता पाउने/नपाउने भन्नेमा अन्योल रहँदा गाउँपालिकाले बजेट विनियोजन गरेको योजना सञ्चालनमा अप्ठ्यारो परेको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन बताउँछन् ।

गाउँपालिकाले चालू आवमा बिम अर्गला मराङ मल्कवाङ सडक आयोजनाका लागि ९० लाख रुपैयाँ विनियोजन गरेको छ । तर सोही सडकको मार्ग खोल्न सडक डिभिजनले गत वर्ष सुरू गरेको काम अलपत्र छ । रासस

प्रकाशित मिति : २६ पुस २०७४, बुधबार ००:००