१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रौतामाईको फ्याटुङ र डिल्लीबर गाउँ पहिलोपटक झिलीमिली



२१ पुस, गाईघाट– उदयपुर ।
जिल्लाको रौतामाई गाउँपालिकाको मध्यविकट पहाडी गाउँ फ्याटुङ र डिल्लीबरमा पहिलोपटक स्थानीय खोलाबाट उत्पादित बिजुलीले गाउँ झिलीमिली भएको छ ।

तीन महिनाअघि स्थानीय फलामे खोलाबाट दुईकिलोवाट विद्युत् उत्पादन भई दुईदिनदेखि सो गाउँमा निरन्तर बिजुली बल्न थालेपछि गाउँघर नै झिलीमिली भएर रातको समयमा अन्धकारमय गाउँ उज्यालोमा परिणत भएको रौता ८ का जितबहादुर मगर बताउछन् ।

जिल्लाको प्रायः सबै गाउँघरमा विद्युत्को पहुँच पुगे पनि लामो समयदेखि रौतामाई गाउँपालिका ८ स्थित फ्याटुङ र डिल्लीबरवासी लामो समयदेखि कुपी बालेर रात कटाउनु पर्ने बाध्यता हटेको स्थानीयवासी कुमारी मगरले बताइन् । अहिले गाउँको खोलाबाट बिजुली उत्पादन भएपछि रात पनि दिन जस्तै भएको उनको भनाइ छ ।

करिब १५ लाख ७१ हजारको लगानीमा फलामे खोलाबाट पावरहाउस निर्माण भएपछि अब गाउँमा बिजुली बाल्न, मोबाइल चार्ज गर्न रेडियो सुन्न र टिभी हेर्न समेत सहज भएको डिल्लीबरका हेमराज खत्री उल्लेख गरे ।

यस्तै गाउँको स्थानीय विद्यालयमा अब कम्प्युटर शिक्षा सञ्चालन गर्नसमेत सहज भएको रौता पञ्चकन्यामाई प्राथमिक विद्यालयका शिक्षक राजन कार्की बताउछन् ।

ओरेक नेपाल तथा सामाजिक परिचालन ग्रामीण प्रविधि सेवा केन्द्रको प्राविधिक सहयोग र जिआइजेड तथा रौतामाई वडा नं ८ र स्थानीय उपभोक्ताको आर्थिक लगानीमा उक्त विद्युत् उत्पादन गरिएको उपभोक्ता समितिका अध्यक्ष शुरबहादुर मगर जानकारी दिए ।

आफ्नै परिश्रम र लगानीबाट अँध्यारो रहेको गाउँमा पहिलोपटक बिजुली बाल्न पाएका कारण आफूहरुले साँच्चिकै विकासको महसुस गरेको स्थानीयवासी राजकुमार आले मगरको धारणा छ ।

चौँतिस घर परिवार रहेको उक्त दुई गाउँमा विद्युतबाट गाउँमा नै पहिलोपटक घट्टासमेत सञ्चालन गरिएको उपभोक्ता समितिका अध्यक्ष मगर बताउछन् ।
रासस

प्रकाशित मिति : २१ पुस २०७४, शुक्रबार ००:००