६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलाद्वारा श्रमदान गरी बाटो निर्माण



२१ पुस, जितपुर– कपिलवस्तु ।
पुसको यो कठ्याङ्ग्रिँदो जाडाको पर्वाह नगरी बाटो नभएर समस्या झेल्दै आएका शिवराज नगरपालिका ९ विजगौरी र रमुवादहका महिलाले आफैँ श्रमदान गरेर बाटो निर्माण गरेका छन् ।

चिसोमा स्थानीय २०० भन्दा बढी महिलाको सहभागितामा दुई दिनमै शिवजुर १ मौवाडाढादेखि शिवराज नगरपालिका ९ को सुरई खोला सिमानासम्म रमुवादह गाउँ जाने करिब दुई किलोमिटर बाटो बनाएका हुन् ।

“उनीहरुले आफ्नो गाउँसम्म पुग्ने बाटो ६ मिटर फराकिलो बाटो बनाएर माटो पटाउनुका साथै दुवैतिर नालीसमेत बनाएका छन् । घरकै खाना खाएर बिहानदेखि साँझसम्म काम ग¥यौँ,” बाघपुराकी रोक्कामगरले भनिन्, “बाटो बन्दा आवतजावत गर्न निक्कै सहज भएको छ ।”

रमुवादहका महिलाले बिहान ७ देखि साँझ ५ बजेसम्म कुटो, कोदालो, साबेल, गैंती र झउवा चलाएर बाटो बनाएका हुन् । किशोरीदेखि गृहिणी, अर्धवैँसे र पाका महिलासम्म गैंती र कोदालो आफैँ चलाएका थिए ।

“गाउँबाट आउजाउ गर्न निक्कै दुःखकष्ट थियो,” अमृता गुरुङले भनिन्, “त्यही सम्झेर काम गरेका हौँ, कसैको मुख ताक्नुभन्दा आफैँ कसिँदा राम्रो भन्दै लागेका हौँ अब नगरपालिकाले हाम्रो उत्साह मर्न दिन हुँदैन । बजेट विनियोजन गरेर ग्राभेल पनि गर्नुपर्छ ।”

उनीहरुलाई हौस्याउन शिवराज नगपालिका ९ का अध्यक्ष चुरबहादुर खड्का दैनिक बाटो खन्न पुग्ने गर्थे । “बाटोका लागि नगरपालिकाको ध्यानाकर्षण गराइसकेको छु,” उनले भने, “थोरधेरै बजेट छुट्याउन लगाउँछु । काम गर्नेको सम्मान गर्नुपर्छ ।”

स्थानीयवासीले करिब ४ लाख बराबरको श्रमदान गरेको उनले जानकारी दिए । बाटो नहुँदा रमवादहसम्म पुग्न उमरीदेखि करिब पाँच किमी जंगलको गोरेटो बाटो हुँदै गाउँ पुग्नुपर्थ्यो तर अब यो बाटो बनेपछि उमरीबाट तीन किमीमै गाउँ पुगिन्छ । बाटो निर्माण भएपछि आवतजावत गर्न निक्कै आनन्द भएको भन्दै स्थानीय हर्षित भएका छन् । महिलालाई ५० भन्दा बढी पुरुषले पनि साथ दिएका थिए ।
रासस

प्रकाशित मिति : २१ पुस २०७४, शुक्रबार ००:००