१७ पुस, म्याग्दी ।
म्याग्दीको रघुगंगा गाउँपालिका १ बेग र बाँदुक गाउँ जोड्ने निर्माणाधीन झोलुङ्गे पुल निर्माणले तीव्र गति लिएको छ । तीन वर्ष अगाडि शिलान्यास गरिएको ३६५ दशमलव ८० मिटर लामो झोलुङ्गे पुल नेपालकै लामो हुने भएको छ ।
पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका झोलुङ्गे पुल सम्पर्क व्यक्तिसमेत रहेका असिस्टेन्ट सवइन्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।
उनका अनुसार यो पुल सम्पन्न भएमा अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालकै लामो झोलुङ्गे पुल हुने बताइएको छ । बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण हुन लागेको सो पुल १४८ मिटरभन्दा बढी अग्लो हुने प्राविधिकको अनुमान छ ।
जिल्ला समन्वय समितिको तीन करोड ३२ लाखको लागतमा निर्माण गर्न लागेको सो पुलको करिब ८५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले बताए ।
पुल निर्माणका लागि जिल्ला समन्वय समिति र स्थानीयवासीको ३६ लाख बराबरको लगानीमा दुवैतर्फबाट पहुँचमार्ग विस्तार गरिएको थियो । एक महिनाभित्रमा सम्पन्न हुने र यसबाट बाँदुकदेखि बेग गाउँ वारपारका लागि लाग्ने करिब तीन घण्टाको यात्रा ३० मिनेटमै छोटिनेछ ।
पुल निर्माणपश्चात् भुरुङ तातोपानी, दोवा, बाँदुक, बेग हुँदै धौलागिरि हुँदै पर्यटकीय रुइसे पुग्ने पदमार्गको समेत परिकल्पना गरिनुका साथै रघुगंगा गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने स्थानीयवासी दलप्रसाद तिलिजाले बताए ।
बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बेगखोला र तिप्याङबाट यस झोलुङ्गे पुलसम्म पुग्नका लागि सडक सञ्जालसमेत विस्तार भइसकेकाले मुस्ताङ जाने पर्यटकलाई समेत आकर्षित गर्ने र पर्यटक आगमन बढ्ने स्थानीयवासीको अपेक्षा छ ।
रासस




प्रतिक्रिया