५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विकटको आयोजनामा हेलिकप्टरबाट ढुवानी



१३ पुस, बाबियाचौर– म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ शिखमा निर्माणाधीन घोस्तेखोर लघुजलविद्युत् परियोजनाको सामान हेलिकप्टरमार्फत ढुवानी गरिएको छ ।

सडकमार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टर्वार्इन लगायतका उपकरण र सामान बुधबार सिम्रिक एयरको हेलिकप्टरबाट निर्माण स्थलमा पु¥याइएको हो ।

आयोजनास्थलमा सडक नपुगेको, मानिसले बोकेर लैजान धेरै समय, जनशक्ति र खर्च लाग्ने भएकाले सामान ढुवानीमा हेलिकप्टर प्रयोग गरिएको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर फगामीले बताए ।

शिख मावि परिसरबाट १२ खेप गरेर आयोजना स्थलमा सामान पु¥याइएको थियो । उपभोक्ता समितिका अनुसार सामान ढुवानीमा ११ लाख खर्च भएको छ । ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयवासीको पहलमा ५० किलोवाट क्षमताको परियोजना निर्माणाधीन अवस्थामा छ ।

परियोजनाको नहर, इन्टेक, विद्युत्गृह, फोरवे निर्माण गर्ने, पोल गाड्ने काम सकिएको छ । तार तान्ने, जेनेरेटर र टर्वाइन जडान गर्ने काम गरेपछि परियोजनाबाट विद्युत् उत्पादन हुने जनाइएको छ । चार वर्ष अघिदेखि निर्माण प्रक्रिया थालिएको परियोजना अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागवीर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिकस्रोत जुटाउने क्रम जारी छ । एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ ।

७२ मा तत्कालीन जिल्ला समन्वय समितिले १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष फगामीले बताए ।

सामुदायिक लज सञ्चालक समितिले बैंकबाट ऋण लिएर परियोजना सम्पन्न गर्ने तयारी गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप अन्तर्गत फलाते हुँदै ढाँडखर्क, बयली र खोप्राको भ्रमणमा आउने पर्यटकको संख्या बढ्दै जान थालेको छ ।

पर्यटकको सुविधा र गाउँका सामुदायिक विद्यालय सञ्चालनका लागि आयश्रोत जुटाउने उद्देश्यले सामुदायिक लज सञ्चालन गरिएको हो । विद्युत् अभावमा पर्यटकलाई अपेक्षाकृत सुविधा उपलब्ध गराउन कठिन भएको थियो ।

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रशारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत परियोजनामार्फत विद्युत सुविधा पु¥याउन लागिएको हो । विद्युत्संगै इन्टरनेट, मोबाइल लगायत सञ्चार सुविधा सहज हुने र पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।
रासस

प्रकाशित मिति : १३ पुस २०७४, बिहिबार ००:००