२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकी करिडोरमा थप बेलिब्रिज बन्दै



रामबहादुर थापा
१२ पुस, बागलुङ ।
कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका ८ स्थित लौहाखोला ‘बेलिब्रिज’ निर्माण डेढ महिनामा पूरा हुने भएको छ ।

उक्त पुल बनेपछि बागलुङ–गुल्मीखण्डमा वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा आउने छन् । यसअघि गत असोजमा बागलुङ खण्डमा तीनवटा तथा गुल्मी खण्डमा एउटा ‘बेलिब्रिज’ निर्माण भई सञ्चालनमा आएका छन् ।

नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहा खोला ‘बेलिब्रिज’ निर्माणसंगै सडक सुधारको काम भइरहेको जनाएको छ । नेपाललाई चीन र भारतसंग जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरमा मार्ग खुलेसंगै सार्वजनिक यातायात सञ्चालनमा छन् ।

लौहाखोला ‘बेलिब्रिज’ बन्नासाथ वर्षामा पनि नियमित यातायात चल्ने कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए । “तीन करोडमा बन्ने ‘बेलिब्रिज’ डेढ महिनामा पूरा हुन्छ, अहिले तीव्र गतिमा काम भइरहेको छ,” उनले भने । करिब ३० मिटर लम्बाइको उक्त पुल निर्माणपछि अहिले ‘डाइभर्सन’ गरेर सञ्चालनमा आएको सो सडकको दूरी घट्ने छ ।

बागलुङ–गुल्मीखण्डको विभिन्न भागमा सडक चौडा बनाउने र स्तरोन्नतिका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । नेपाली सेनाले ठूला पुल बनाउन बजेट र समय धेरै लाग्ने हुँदा मार्ग खुलेका ठाउँमा तत्काललाई ‘बेलिब्रिज’ हाल्ने गरेको छ । आगामी वर्षायाममा पनि करिडोरलाई सञ्चालनमा राख्न खोलामा पुलको कुनै समस्या नहुने इन्जिनियर भट्टराईको भनाइ छ ।

जैमिनी नगरपालिका १ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौँरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका ५ स्थित गौदीखोलामा ‘बेलिब्रिज’ निर्माण भइसकेको छ ।

करिडोरको मर्मत, सुधार र स्तरोन्नतिका लागि थप एक अर्ब बजेट आवश्यक पर्ने निर्माण कार्यदलले जनाएको छ । गुल्मीको रिडीदेखि बागलुङको मालढुङ्गासम्मको ८५ किमी मार्ग खोल्दा एक अर्ब तीन करोड खर्च भएको इन्जिनियर भट्टराईले बताए ।

तीन सय ४५ किमीको करिडोरको पूरै मार्ग खुले पनि दक्षिणी नाका सुनौलीदेखि उत्तरी नाका कोरलासम्म लामो दूरीमा यातायात सञ्चालनमा छैन । बीच–बीचमा सार्वजनिक सवारी साधनले यात्रुलाई सेवा दिइरहेका छन् । जैमिनी नगरपालिकादेखि बुटवलसम्म भने नियमित बस सञ्चालनमा आइसकेको छ ।

करिडोर खुलेपछि सो मार्ग भएर रुपन्देही, पाल्पा, गुल्मी र बागलुङका पर्यटकीय तथा ऐतिहासिकस्थल घुम्नेको संख्या बढ्दो छ । स्थानीय उत्पादनको बजारीकरणले आर्थिक गतिविधि बढाएको छ । कच्ची सडक जतिसक्दो छिटो स्तरोन्नति गरी कालोपत्र गर्न सके करिडोर देशकै महत्वपूर्ण सडक मार्गको रुपमा विकास हुने देखिन्छ ।

सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा सेनालाई दिएको थियो । व्यापार, पारवहन र सामरिक दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।
रासस

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार ००:००