११ पुस, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ ।
निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा/ढुंगा र गिट्टी संकलन गरेको छ । ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण हुने चार लेनको सडकको सर्वे सकिएर नापीको काम सुरुआतको चरणमा रहेको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए ।
“तीन साताभित्रमा सडकको नापीको काम सकिएपछि जग्गा मुआब्जाको काम शुरु हुन्छ,” भण्डारीले भने, “निर्माण कम्पनीले पनि साइडमा विभिन्न प्लान्ट र क्याम्प स्थापना गरिसकेको छ ।”
मुआब्जाका लागि सरकारले चालु आर्थिक वर्षमा रु १० करोड रकम विनियोजन गरिसकेको छ । सडकमा पर्ने जग्गाको मुआब्जाका लागि सो रकम विनियोजन गरिएको हो । मुआब्जा वितरणपछि सडक निर्माणको काम सुरू हुनेछ ।
ेपुलका लागि क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घरमिटर ढुंगा तथा बालुवा संकलन भइसकेको छ । पुलसँगै महाकाली नदी वारि करिब ६ किमी र पारि दोधाराचाँदनीतर्फ डेढ किमी ४ लेनको सडकसमेत निर्माण हुनेछ ।
“पुलका लागि चालु आवमा रु ५५ करोड रकम आएको छ” भण्डारीले भने, “पुल निर्माणको तयारी सन्तोषजनकरुपमा अघि बढिरहेको छ ।” सडकमा पर्ने रुख कटानीका लागि सम्बन्धित कार्यालयलाई पत्राचारसमेत भइसकेको छ ।
३ अर्ब २७ करोड ९३ लाख रुपैयाँमा निर्माण सम्झोता भएको आयोजनाको निर्माण अवधि तीन वर्ष तोकिएको छ । पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुने स्थानीयवासीको अपेक्षा छ । रासस




प्रतिक्रिया