१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकालीमा पुल निर्माणको तीव्र गतिमा



११ पुस, भीमदत्तनगर ।
कञ्चनपुरको भीमदत्तनगरपालिका १२ स्थित ओदालीमा निर्माण गरिने महाकाली नदीको चार लेनको पुल निर्माणको तयारी धमाधम हुँदैछ । गत भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेपश्चात् पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले निर्माण सामग्री जडानदेखि कच्चा पदार्थ संकलन कार्य तीव्र गतिमा गरिरहेको छ ।

निर्माण कम्पनीले पुल निर्माणस्थल छेउमा क्रसर जडान, श्रमिकका लागि आवास, कार्यालय स्थापनाका साथै बालुवा, ढुंगा र गिट्टी संकलन गरेको छ । ओदालीदेखि उत्तरतर्फ गड्डाचौकीसम्म निर्माण हुने चार लेनको सडकको सर्वे सकिएर नापीको काम सुरुआतको चरणमा रहेको महाकाली पुल योजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले जानकारी दिए ।

“तीन साताभित्रमा सडकको नापीको काम सकिएपछि जग्गा मुआब्जाको काम शुरु हुन्छ”– योजना प्रमुख भण्डारीले भने, “निर्माण कम्पनीले पनि साइडमा विभिन्न प्लान्ट र क्याम्प स्थापना गरिसकेको छ ।”

मुआब्जाका लागि सरकारले चालु आर्थिक वर्षमा १० करोड रकम विनियोजन गरिसकेको छ । सडकमा पर्ने जग्गाको मुआब्जाका लागि सो रकम विनियोजन गरिएको हो । मुआब्जा वितरणपछि सडक निर्माणको काम शुरु हुने भण्डारीले बताए ।

पुलका लागि क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, क्याम्प, पुलका लागि करिब ७० हजार घरमिटर ढुंगा तथा बालुवा संकलन भइसकेको निर्माण कम्पनीले जनाएको छ । पुलसंगै महाकाली नदी वारि करिब छ किमी र पारि दोधाराचाँदनीतर्फ डेढ किमी चार लेनको सडकसमेत निर्माण हुनेछ ।

“पुलका लागि चालु आवमा ५५ करोड रकम आएको छ” महाकाली पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने, “पुल निर्माणको तयारी सन्तोषजनकरुपमा अघि बढिरहेको छ ।” उनले सडकमा पर्ने रुख कटानीका लागि सम्बन्धित कार्यालयलाई पत्राचारसमेत भइसकेको जानकारी दिए ।

तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको छ । निर्माण अवधि तीन वर्ष तोकिएको छ । पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको महत्वपूर्ण व्यापारिक नाकाका रुपमा विकसित हुने स्थानीयवासीको अपेक्षा रहेको छ ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००