२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पातुखोलामा झोलुङ्गे पुल निर्माण



११ पुस, दाङ ।
तुल्सीपुर नगरपालिकाका तीन वडा जोड्ने झोलुङ्गे पुल निर्माणसंगै यहाँका स्थानीय हर्षित भएका छन् । पातु खोलामा पुल नहुँदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातु खोलमा पुल निर्माणसंगै आफूहरुलाई सहजता भएको बताएका छन् ।

जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजना अन्तर्गत तुल्सीपुर ३, ७ र ९ नं वडा जोडने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसंगै सोमबार देखि सञ्चालनमा समेत आएको छ ।

“वर्षौंको पुलको सपना आज पूरा भएको छ, तुलसीपुर बजारसम्म जान हामीलाई वर्षात्को समयमा हम्मेहम्मे हुने गरेको थियो अब भने सजिलै बजारसम्म जान सकिने भयो” स्थानीय रेश्मी वलीले भनिन् ।

केटाकेटीलाई विद्यालय पु¥याउन त्यतिकै समस्या थियो । वलीले भनिन्– “अब भने ढुक्कका साथ केटाकेटी पढ्न जानपाउने छन्, कतिले त खोलामा ज्यानै जोखिममा पारेर खोला तर्नुपर्ने समस्या थियो ।”

उनी जस्तै वृद्धा पवित्रा विकले पनि पुल निर्माणसंगै आफूहरुलाई सहजता हुनुका साथै खुशी लागेको बताइन् । “वृद्धवृद्धालाई भत्ता लिन तुलसीपुर जान समस्या थियो, बर्खा लाग्यो भने की तलबाट पुल तरेर बजार जानुपर्थ्यो होइन भने हिउँदनै पर्खनुपर्ने समस्या थियो ।

त्यसैगरी, कक्षा १ मा अध्ययन गर्ने पार्वती पुनले पनि पुल बनेसंगै आफूहरुलाई सहज भएको बताइन् । उनले अब सहजै विद्यालयसम्म जान पाउने भएकोमा आफूहरु खुशी भएको बताइन् ।

उनीहरु जस्तै यहाँका पातुखोला आसपास, डाँडा खुटी, हरेवास, नाउला, बल्ले, दमारगाउँ, चिसापानीका करिब एक हजारभन्दा बढी घरधुरीलाई सहजता भएको स्थानीय हुमबहादुर विकले बताए ।

सेवा प्रतिष्ठान नेपालको ४५ लाख, जिल्ला समन्वय समितिको दुई लाख आठ हजार, समुदायको एक लाख बराबर श्रमदान र नगरपालिकाको एक लाख गरी झण्डै ५० लाख १७ हजारमा पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हुमबहादुर विकले बताए । पुल ७० मिटर लामो रहेको छ ।
रासस

प्रकाशित मिति : ११ पुस २०७४, मंगलबार ००:००