१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कनकाई नदीमा तटबन्ध निर्माण शुरु, स्थानीयवासी हर्षित



७ पुस, बनियानी– झापा ।
कनकाई नदीमा तटबन्ध निर्माण कार्य शुरु भएपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षेनी कनकाई नदीको कटान र डुबानका समस्याले आजित बनेका स्थानीयवासी तटबन्ध निर्माण शुरु भएपछि हर्षित भएका हुन् । शिवसतासी ७ स्थित चन्द्रडाँगी पूर्व र ५ को भेलामुनीमा पाँच करोडको लागतमा तटबन्धको काम भइरहेको इञ्जिनियर दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

“बढी जोखिमपूर्ण र प्रभावित स्थानको पहिचान गरी तटबन्धको काम भइरहेको छ,” उनले भने । शिवसताक्षी ४ का सिकिन पासवानले तटबन्धले स्थानीयवासीमा आशा जगाएको बताए । “धेरैजना कनकाई नदीको कटानले सुकुम्बासी भएका छन्,” उनले भने, “वर्षा शुरु भएसंगै त्रास छाउँछ ।”

अर्का स्थानीय विरेन राजवंशी तटबन्ध शुरु भएपछि बाढीको जोखिम कम हुनेमा विश्वस्त रहेको बताउछन् । “हरेक वर्ष दुःखका साथ बर्खायाम बिताउने गरेका छौँ,” उनले भने, “तटबन्ध निर्माण शुरु भएसंगै स्थानीयवासीमा आश जागेको छ ।”

शिवसताक्षी नगरपालिकास्थित लालपानीका मानबहादुर थापाले कनकाई नदीको कटानकै कारण आफू सुकुम्बासी भएको बताउँदै तटबन्ध विश्वासिलो र भरपर्दो हुनुपर्नेमा जोड दिए । उनले नदीको दुवै किनारमा तटबन्ध गरिएमात्र प्रभावकारी हुने सुझाउ पनि दिए ।

“नदीको दुवैतिर नियन्त्रणको काम हुनुपर्छ,” उनले भने, “नत्र एकातिरको समस्या अर्कोतिर सर्छ ।” कनकाई नदीकै कारण सयौँ परिवार विस्थापित भएको पनि उनले सुनाए ।

कनकाईले वर्षेनी कैयौँ बिगाहा जमिन कटान गर्ने गरेको छ भने सयौँ घर डुबान र बाढीले बगाउँदा मानवीय क्षतिसमेत हुने गरेको छ । जनताको तटबन्धले यो वर्ष बाँचिएला भन्ने आशा जागेको स्थानीयवासी बताउँछन् ।
रासस

प्रकाशित मिति : ७ पुस २०७४, शुक्रबार ००:००