६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समानुपातिक मत परिणाम बागलुङ मा कांग्रेस पहिलो, भोजपुरमा एमाले



२६ मंसिर ।
बागलुङः प्रत्यक्षतर्फ जिल्लाका सबै निर्वाचन क्षेत्रमा हार ब्यहोरेको नेपाली कांग्रेस समानुपातिक मतमा भने पहिलो दल बनेको छ । प्रतिनिधि र प्रदेशसभा गरी दुवैतर्फ कांगेसले अन्य दलभन्दा बढी मत पाएको छ । कांगेसले प्रतिनिधिसभातर्फ ३५ हजार ६६८ र नेकपा एमालेले ३० हजार ६३५ ल्याएका छन् ।

समानुपातिकमा तेस्रो स्थान ओगटेको राष्ट्रिय जनमोर्चाले १५ हजार ९३४ मत पाएको छ । नेकपा माओवादी केन्द्रले १४ हजार ४५० मत ल्याएर चौथो भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार २१२ तथा जिल्लामा संगठन नै नभएको विवेकशील साझा पार्टीले एक हजार १९६ मत प्राप्त गरेका छन् ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले ८४९, नयाँ शक्ति पार्टीले ४०५, नेकपा मालेले ३६४ संघीय समाजवादी फोरम नेपालले २१४ र नेपाली जनता दलले १०५ मत ल्याएका छन् । कुल एक लाख ६७ हजार २८२ मतदाता रहेको बागलुङमा एक लाख आठ हजार १५१ मत खसेको थियो ।

जिल्लाका दुई प्रतिनिधि र चार प्रदेशसभामा प्रत्यक्षतर्फ वाम गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमाले, माओवादी केन्द्र र राजमो गठबन्धन बनाएर चुनावी मैदानमा थिए भने कांग्रेसले एक्लै चुनाव लडेको थियो । विसं २०७० मा भएको चुनावमा जिल्लाका तीनै क्षेत्रमा जितेको कांग्रेसले यसपालि विरासत जोगाउन सकेन ।

भोजपुरः समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको मतगणनानुसार नेकपा एमालेले सबैभन्दा धेरै मत प्राप्त गरेको छ ।

प्रत्यक्षतर्फको मतगणना सकिएपछि शुरु भएको समानुपातिकतर्फको मतगणना गए राति सकिँदा एमालेले २५ हजार ९९, नेपाली कांग्रेसले १५ हजार ७१० र माओवादी केन्द्रले ११ हजार १५४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा कुल ६५ हजार ९०८ मत खसे पनि नौ हजार १५ मत बदर भएको थियो ।

प्रदेशसभा क मा एमालेले १२ हजार १९१, कांग्रेसले सात हजार ९६० मत र माओवादी केन्द्रले चार हजार ९३७ मत ल्याएको छ । प्रदेशसभा ख मा भने एमालेले ११ हजार ३३१, कांग्रेसले पाँच हजार ५४४ र माओवादी केन्द्रले छ हजार ९३ मत ल्याएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिए ।
रासस

प्रकाशित मिति : २६ मंसिर २०७४, मंगलबार ००:००