१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा कांग्रेस र स्वतन्त्र निर्वाचित



२२ मंसिर, बेसीशहर– लमजुङ ।
हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा एमाले र प्रदेशसभामा नेपाली कांग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा एमालेका उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित भएका छन् । नेपाली कांग्रेस मनाङका सभापति एवं पूर्वराज्यमन्त्री समेत रहेका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित भएका हुन् ।

विजयी पोल्देन छोपाङले दुई हजार ३०० मत प्राप्त गरे भने प्रतिद्वन्द्वी टेकबहादुरले दुई हजार २१ मत पाएका छन् । खसेको मतमध्ये चार हजार ३२१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा चार हजार ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पाँच हजार ८८१ मतदाता छन् ।

प्रदेशसभा क मा कांग्रेस र ख मा स्वतन्त्रका मनाङ्गे

प्रदेशसभाका सदस्यका लागि नेपाली कांग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । कांग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा क बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी भएका हुन् । विजयी घलेले ९९८ मत प्राप्त गरेका हुन् ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गरेका छन् । मनाङ क मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।

प्रदेश सभा ख मा दीपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित भएका छन् । गुरुङले एक हजार ४१० मत पाएका छन् भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कर्म गुरुङ ३९० मतले पराजित भएका छन् । उनले एक हजार २० मत प्राप्त गरेका छन् ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाएका थिए । जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उनको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००