१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार दिनभित्र प्रत्यक्षको मत परिणाम आउने छः आयुक्त पौड्याल



ब्१९ मंसिर काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चार दिनभित्र प्रत्यक्ष र आठ दिनसम्ममा समानुपातिकको मतगणना गरी सक्ने व्यवस्था मिलाएको छ ।

मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारीका सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सानो र छरितो मतपत्र भएकाले मतगणना निकै छिटो ढंगबाट अघि बढ्ने बताए ।

उपलब्ध स्रोत साधनबाट सम्भव हुने अवस्थामा मतगणना स्थलमा सीसीटिभी जडान गर्ने व्यवस्था गरिएको पनि आयोगले जनाएको छ । मतगणना प्रतिनिधिलाई प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार परिचयपत्र उपलब्ध गराउँदा मतगणना प्रतिनिधिको फोटो अनिवार्यरूपमा टाँसेर मात्र उपलब्ध गराउन आयोगले निर्देशन दिएको छ ।

दोस्रो चरणको निर्वाचनको मतदान सम्पन्न भएपछि पहिलो चरणमा मतदान भएका ३२ जिल्लामा मतगणना कार्य शुरु हुनेछ । दोस्रो चरणमा मतदान भएको जिल्लामा सबै मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा संकलन भएपछि मात्र मतगणना शुरु हुने निर्वाचन पौड्यालले जानकारी दिए ।

उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि, सञ्चारकर्मी, कर्मचारी वा मतगणनास्थलमा प्रवेश पाउने कुनै व्यक्तिलाई मतगणनास्थलमा प्रवेश गर्न दिनुअघि अनिवार्यरूपमा सुरक्षा जाँच गरेरमात्र प्रवेश दिने व्यवस्था गर्न आयोगले मुख्य निर्वाचन, अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई भनेको छ ।

मतगणनास्थलमा उपस्थित उम्मेदवार÷निर्वाचन प्रतिनिधि÷मतगणना प्रतिनिधिले मतगणनाको क्रममा कुनै पनि हालतमा मतपत्र छुन नपाउने÷नसक्ने गरी छेकवार राख्ने र उपरोक्त व्यक्तिले मतपत्र छुन नपाउने गरी उच्च सुरक्षा प्रबन्ध मिलाइने उनले जानकारी दिए ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षकलाई मतगणनाको पर्यवेक्षण गर्न दिँदा मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतले निश्चित समय, स्थान र अवधि तोकी पर्यवेक्षण गर्न दिने व्यवस्था मिलाउन पनि आयोगले मातहतका निकायलाई भनेको छ ।

मतगणना र सोको अद्यावधिक परिणाम राजनीतिक दल, उम्मेदवार, आमनागरिक, मतदाता एवं सञ्चारकर्मीसमेतको चासोको विषय हुने भएकाले आवश्यकताअनुसार समय–समयमा मतगणनाको अद्यावधिक परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिइसकेको जनाएको छ ।

मतगणनासम्बन्धी समाचार संकलन, सम्प्रेषणका लागि मतगणनाको दृश्य खिच्न चाहने सञ्चारकर्मीलाई मतगणना कार्यको व्यवस्थापन र सुरक्षा व्यवस्था कायम गर्न बाधा नपर्ने गरी मतगणनास्थलको निश्चित दूरीबाट मतगणनाको दृश्य खिच्न सक्ने व्यवस्था मिलाइएको पनि आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मंसिर २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ ।

आयोगका अनुसार, दोस्रो चरणको निर्वाचनको मतदान केन्द्रित तयारीका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत सबै मतदान केन्द्रमा पुगिसकेका छन् । रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार ००:००