१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिस्पर्धीलाई कमजोर देखाएर चुनाव जित्ने प्रयासमा उम्मेदवार



सञ्चिता घिमिरे
१८ मंसिर, ललितपुर ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु आफ्ना प्रतिस्पर्धीका कमीकमजोरी ओकल्दै निर्वाचन जित्ने होडमा छन् । क्षेत्र नं १ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट अर्थ राज्यमन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट एमालेका नवराज सिलवाल उम्मेदवार छन् ।

राणा २०७० को संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए । राणाले आफ्ना प्रतिद्वन्द्वी सिलवाललाई यस क्षेत्रलाई नचिनेको आरोप लगाउने गरेका छन् । “न त यहाँको भूगोल चिन्नुभएको छ, न यहाँ कहिले आउनुभएको नै थियो,” राणाले भने । गोदाबरी बाहेक अन्यत्रका मतदाताले सिलवाललाई नचिन्ने उनको आरोप छ ।

सिलवाल क्षेत्र नं १ को गोदाबरीको तथा राणा क्षेत्र नं ३ कुपण्डोलको बासिन्दा हुन् । सिलवालले भने, “म यसै क्षेत्रमा जन्मे हुर्किएको हो, त्यसैले आफ्नो क्षेत्रमा नै उम्मेदवार भएको छु ।” राणाले अघिल्लो निर्वाचनमा दिएको आश्वासन पूरा गर्न नसकेको उनको आरोप छ । राणाले संविधानसभा निर्वाचनका बखत गरेका प्रतिबद्धता पूरा नगरेको उनको भनाइ छ ।

उम्मेदवार एक अर्कालाई आरोप लगाउनमै ब्यस्त छन् । आफू सक्षम भएको देखाएर मतदातालाई आकर्षित गर्न लागेका छन् । बागमति, कोञ्जेसोम र महांकाल गाउँपालिका तथा गोदावरी नगरपालिकाको १२ वडा यस क्षेत्रमा पर्छ । स्थानीय तहको निर्वाचनमा तीन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमध्ये नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक एकमा विजयी भएका थिए । गोदावरी नगरपालिकाको प्रमुख र उप–प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

यस क्षेत्रमा विसं २०४८, २०५१ र २०५६ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । विसं २०६४ मा नेकपा माओवादी विजयी भएको थियो भने २०७० मा कांग्रेस उम्मेदवार राणा विजयी भएका थिए ।

क्षेत्र नं १ मा ५३ मतदानस्थल र ८७ वटा मतदान केन्द्र छन् । कुल मतदाता संख्या ६५ हजार ९१८ रहेको छ । प्रतिनिधिसभा सदस्यका लागि १२ वटा राजनीतिक दलका तर्फबाट र नौ जना स्वतन्त्र गरेर २१ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेश क मा छ वटा राजनीतिक दलका तर्फबाट र दुईजना स्वतन्त्र गरेर आठ जना तथा प्रदेश ख मा आठ राजनीतिक दल र चारजना स्वतन्त्र गरेर १२ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
रासस

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ००:००