१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौँ क्षेत्र नं १ः राजमो उम्मेदवारद्वारा वाम उम्मेदवार शर्मालाई समर्थन



१७ मंसिर, काठमाडौँ ।
राष्ट्रिय जनमोर्चा (राजमो) नेपालबाट काठमाडौँ क्षेत्र नं १ का उम्मेदवार डा निर्मलकुमार थापाले सो क्षेत्रका वाम गठबन्धनका उम्मेदवार अनिलकुमार शर्मालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार थापाले वाम आन्दोलनलाई अगाडि बढाउन र वाम गठबन्धनको नेतृत्वमा स्थायी सरकार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे ।

आफ्ना प्रस्तावक, समर्थक तथा सो क्षेत्रका सबै मतदातालाई नेकपा माओवादी केन्द्रका उम्मेदवार शर्मालाई नै मतदान गर्न उनले आग्रह गरे । आफ्नो उम्मेदवारी फिर्ताबारे पार्टीको नेतृत्वलाई जानकारी गराएको तर पार्टी निर्णय भने हुन बाँकी रहेको उनले जानकारी दिए ।

यस्तै काठमाडौँ क्षेत्र नं १ का प्राध्यापक, बुद्धिजीवीको भेलाले वाम उम्मेदवार शर्मालाई मतदान गर्ने निर्णय गरेको जानकारी प्राडा राममान श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।

अस्थिर सरकारबाट भोग्नुपरेका समस्याको अन्त्यका लागि वाम गठबन्धनका प्रतिनिधिलाई विजयी गराई राष्ट्रको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वाससहित सो क्षेत्रका १०५ जना प्राध्यापकको भेलाले शर्मालाई समर्थन गर्ने निर्णय गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा सो क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवार शर्माले जनमोर्चाका उम्मेदवार डा थापाको समर्थन र बुद्धिजीवीको समर्थनले आफूलाई थप हौसला बढेको भन्दै आफ्नो जित निश्चित रहेको बताउनुभयो ।

देश विकासका लागि युवालाई नेतृत्वमा ल्याउनुको विकल्प नरहेको भन्दै स्थिरता, विकास र समृद्धिका लागि आफूलाई मतदान गर्न उहाँले आग्रह गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं १ लाई धुवाँधुलोमुक्त, विषदिमुक्त बनाउन, नियमित खानेपानी, शैक्षिक केन्द्रका रुपमा विकास, सफा वाग्मती र धोबीखोला, वृद्धवृद्धालाई घरमै स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाभत्ताजस्ता विषय आफ्नो एजेण्डा रहेको उहाँले जानकारी दिनुभयो ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७४, आइतबार ००:००