१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक, खानेपानी, स्थानान्तरणजस्ता पुराना कुरा उठाउँदै मतदाता



रमेशकुमार वली
१६ मंसिर, सल्यान ।
दलहरुले मत आफ्नो पक्षमा पार्नका लागि घरदैलोमै गएर प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । वाम गठबन्धनले पाँच वर्षमा जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धतापत्र सहित घरदैलो अभियानलाई तीव्र बनाएको छ भने नेपाली कांग्रेसले घरदैलो अभियानमा वैदेशिक रोजगारीमा गएका युवालाई जिल्लामै स्वरोजगार बनाइने प्रतिबद्धता व्यक्त गरेको छ । वाम गठबन्धनले आफ्नो घोषणापत्रमा पाँच वर्षमा १० स्थानीय तहका ८३ वडामा सडक कालोपत्र गर्ने, स्थानीय बजारलाई स्मार्ट सिटीका रुपमा विकास गर्ने र जिल्लाका विभिन्न गाविसलाई पकेट क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कांग्रेस फ्री वाइफाई, पर्यटकीयस्थलको विकास र सडक सञ्जाल जस्ता कुरासहित घरदैलो अभियानमा छ । जिल्लामा प्रदेश ख बाट मात्र उम्मेदवारी दिएको राप्रपा भने हालसम्म पनि प्राविधिक शिक्षालय नभएकाले आफूले जितेमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता सहित चुनावी अभियानमा छ ।

पुरानै प्रतिबद्धता पूरा गरे पुग्छः मतदाता

आ–आफ्ना प्रतिबद्धता लिएर मतदातासामु पुगेका दललाई जिल्लाका मतदाता भने पहिलेका प्रतिबद्धतालाई पूरा गर्ने हो भने जिल्ला आफैँ समृद्ध हुने बताउँछन् । निर्वाचनका बेला विभिन्न नयाँ नयाँ प्रतिबद्धता लिएर जाने नेतालाई आफ्नो क्षेत्रको विकास गर्ने हो भने पहिलेकै प्रतिबद्धता पूरा गरे पुग्ने वनगाड कुपिण्डे नगरपालिकाका दुर्गा बिसीले बताए । “जनतालाई सडक, खानेपानी, बिजुली र रोजगारी चाहिएको छ, यति पूरा गरे हाम्रो नगरपालिका समृद्ध बन्छ, हामीले यही माग नेतासंग राखेका छौँ” बिसीले भने ।

कालीमाटी गाउँपालिका १ लक्ष्मीपुरका बासिन्दाको माग पनि नयाँ छैन । आफ्नो वडामा खानेपानीको चरम संकट भएकाले खानेपानी आयोजना निर्माण तथा सडकको स्तरोन्नति गरिदिन नेतासंग माग राखिएको कालीमाटी गाउँपालिका १ का अम्मरबहादुर भण्डारीले बताए । “यहाँका बासिन्दाले नदी र खोलाको फोहोर पानी खाइरहेका छन्, सडकसंग मान्छेको दैनिकी जोडिएको छ ठूलाठूला प्रतिबद्धता गर्नुभन्दा आधारभूत कुरा पूरा गर्नुस् भनेका छौँ” भण्डारीले भने ।

स्थानीय तहको सीमाङ्कनका क्रममा छत्रेश्वरी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर रुष्ट छत्रेश्वरी १ दमाचौरका मतदाताको माग पनि नयाँ छैन । जितेकाहरुले आफूहरुलाई पायक पर्ने स्थान लेखपोखरामा सार्नुपर्र्ने उनीहरुको माग छ । “दलहरुले धेरै राम्रा प्रतिबद्धता लिएर हामीकहाँ आए उनीहरुको कुरा पनि सुन्यौँ तर हाम्रो समस्या भनेको अहिलेको गाउँपालिकाको केन्द्र अहिलेको सदरमुकामभन्दा पनि टाढा छ, यसलाई पायक पर्ने स्थानमा सार्न सहयोग गर्नुप¥यो” छत्रेश्वरी १ का नवीन चन्दले भने ।

माओवादी केन्द्र र बागीको दोहोरी

निर्वाचनको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्र र बागी उम्मेदवारबीच कारबाहीको दोहोरी चल्न थालेको छ । वाम गठवन्धनले गरेको सिट बाँडफाँटका क्रममा सल्यानलाई अन्याय परेको भन्दै माओवादी केन्द्र सल्यानले गरेको बागी उम्मेदवारी दर्तासंगै चुलिएको विवाद पार्टीमा एकार्कालाई कारबाहीको सिफारिशसम्म पुगेको छ ।

वर्तमान माओवादी केन्द्रका जिल्ला संयोजक कर्णबहादुर बुढाथोकीलाई जिम्मेवारीबाट मुक्त गर्दै दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीलाई यही मंसिर ११ गते संयोजकको जिम्मेवारी तोकिएको थियो तर त्यसको दुई दिनपछि माओवादी केन्द्र सल्यानको पूर्ण बैठकले विनाविभागीयमन्त्री टेकबहादुर बस्नेतसहित पाँच जनालाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाहीका लागि सिफारिश गरेको छ । बैठकले माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नेवबहादुर कुँवर, कृतिबहादुर पुन, रमेश मल्ल र रत्नबहादुर ओलीलाई समेत हँदैसम्मको कारबाहीका लागि पार्टी केन्द्रमा सिफारिश गरेको माओवादी केन्द्र सल्यानका संयोजक (तर जिम्मेवारीबाट मुक्त भनिएका) बुढाथोकीले बताए ।

माओवादी केन्द्र सल्यानको निर्णयअनुसार आफूहरुले उम्मेदवारी दिएको भन्दै पार्टीको झण्डा बोकेर घरदैलोमा बागी उम्मेदवार हिँडेपछि आधिकारिक उम्मेदवार को भन्ने विषयमा अन्योल छाएको छ । आफूहरु पार्टीको आधिकारिक उम्मेदवार भएकाले पार्टीको झण्डा बोक्नु ठूलो नभएको माओवादी केद्रका सल्यानका संयोजक बुढाथोकी जिकिर गरे । “हामीले प्रत्यक्ष निर्वाचनका लागि आ–आफनो चुनाव चिन्हमा मत मागेका छाैँ, समानुपातिकका लागि गोलाकार हँसिया हथौडामा मत मागेका छौँ” बुढाथोकीले भने ।

वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रबाट उम्मदवारी दिएका विनाविभागीयमन्त्री बस्नेत भने बागी उम्मदवारले पार्टीको झण्डा बोकर मत माग्न गएको कहिल्यै नदेखेको बताए । “बागी उम्मेदवारी दिने तर पार्टीको झण्डा बोक्ने के यो सुहाउने कुरा हो, उनीहरुलाई कार्यकर्तालाई भ्रममा पार्ने अधिकार कसले दियो ?” बस्नेतले भने । वाम गठबन्धनविरुद्धमा प्रदेश ख बाट उम्मेदवारी दिएका जितबहादुर पुनले उम्मेदवारी फिर्ता लिइसके पनि प्रतिनिधिसभा तथा प्रदेश क मा दिइएको उम्मदवारी भने कायमै छ । वाम गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका बस्नेत तथा प्रदेशसभाका लागि प्रदेश क बाट एमालेका गुलाबजंग शाह र प्रदेश ख बाट प्रकाश ज्वालाले उम्मेदवारी दिएका छन् ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७४, शनिबार ००:००