८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने संभावना



कालिका खड्का
१५ मंसिर, काठमाडौँ ।
स्थानीय तह लगत्तै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका कारण मतदातामा पर्याप्त मात्रामा मतदाता शिक्षा पुग्न सकेको छैन । प्रतिनिधि चुन्न मत दिने अधिकार प्राप्त मतदातालाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिनुपर्ने जरुरी भए पनि समय अभाव र ठूल्ठूला निर्वाचन एकै पटक गराउनुपर्ने हुँदा संभव नभएको हो ।

दोलखाकी ५८ वर्षीय रमिला थापाले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारको मत चिन्हमा लगाइन् तर समानुपातिक मतदान गर्ने चिन्ह धेरै भएकाले एउटामा मत दिन छुटाइन् । “तीनवटा मतपत्र थियो, मैले साना साना दुईमा लगाए अनि ठूलो मतपत्रमा एक छाप लगाए” उनले थपिन् । प्रतिनिधिसभा वा प्रदेशसभाको समानुपातिक उम्मेदवारलाई भने मत दिन उनले छुटाइन् ।

मतपत्रको चिन्हमा छाप लगाउन राम्ररी ज्ञान नभएकी रमिलालाई जस्तै ४० वर्षीय सुनिता थामीले पनि मतदानका क्रममा समानुपातिक मतपत्रमा छाप लगाउँदा झुक्किइछन् । “रातो रंगको ठूलो मतपत्रमा धेरै चिन्ह थिए, माथिको दुई चिन्हमा मात्र छाप लगाँए” मतदानपछि उनले आफ्ना साथीहरुलाई सुनाइन् । सुनिताले पनि प्रतिनिधिसभा र प्रदेशसभाका कुनै एक एक उम्मेदवारलाई मत दिनुपर्नेमा माथि नै दुईवटा छाप लगाइछन् ।

मतदान गर्न जाँदा मतदाता शिक्षाको ज्ञान नभएर छाप लगाउँदा बिगार्ने रमिला र सुनिता प्रतिनिधि पात्र मात्र हुन् । यस्तै ज्ञान नभएर कतिले बिगारे होलान् । त्यो मतगणनापछि नै थाहा हुन्छ । निर्वाचनका बेला खेतीपाती भित्र्याउने मौसम भएका कारण पनि मतदाता शिक्षा प्रभावकारी हुन नसकेको देखिन्छ । धान भित्र्याउने चटारोमा लागेका मतदातालाई घरदैलो पुगेका मतदाता शिक्षा दिनेहरुले भेटेर सिकाउने मौका नै पाएनन् ।

निर्वाचन आयोगले पनि अन्तिममा मतपत्र फरक छाप्नुपर्ने भएकाले कात्तिक २८ गतेदेखि मात्र निर्वाचन शिक्षाका लागि टोली खटाएको हुँदा मतदाता शिक्षा दिनका लागि समय पनि कम भएको आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालको भनाइ छ ।

अर्यालले थपे, “मतपत्र फरक तरिकाले छाप्नुपर्ने हुँदा समय पनि एकदम कम भएकै हो, पहिलो चरणको १० गतेको निर्वाचनका लागि मतदाता शिक्षा हतारमा दिइएको हो, मतदातालाई राम्ररी सिकाउने समय नै भएन ।”

उनका अनुसार पहिलो चरणको मतदानमा कति प्रतिशत मतपत्र बदर भयो भन्ने कुरा मतगणनापछि मात्र थाहा हुन्छ । प्रतिनिधिसभाको एक हरियो, प्रदेशसभाको एक हरियो र समानुपातिकको रातो मतपत्रमामा माथि र तल एक–एक चिन्ह लगाउनुपर्नेमा माथि नै दुईवटा लगाएको भन्ने कुरा आएको छ । त्यसलाई ध्यानमा राखेर आयोगले दोस्रो चरणका निर्वाचनमा दलका नेताहरुलाई मत छाप लगाउने तरिका समेत सिकाउन जरुरी छ । बुझेकाहरुले अरूलाई पनि बुझाउन समेत आयोगले आग्रह गरेको छ ।

आयोगले १९ हजार ८०९ वटै मतदान केन्द्रका प्रत्येक केन्द्रमा एक–एक कर्मचारी मतदाता शिक्षाका लागि खटाएको छ । सञ्चारमाध्यमका साथै कतिपय गैरसरकारी संस्थाले पनि निर्वाचन शिक्षाका लागि सहकार्य गरेका छन् ।

मतदाता शिक्षा अभियान सञ्चालन गरेको नेपाल मतदाता शिक्षा मञ्चका अध्यक्ष भक्त विश्वकर्माले भने, “मतदातालाई कतिवटा मतपत्रमा छाप लगाउने, कसरी चिन्ह लगाउने भन्ने विषयमा सामूहिक भेला गराएर मतदाता शिक्षा दिएका छौ ।” उनका अनुसार केन्द्रले एकै ठाउँमा ४०—५० जना मतदाता जम्मा गरी मतदाता शिक्षा दिने कार्यक्रम सञ्चालन ग¥यो । निर्वाचन शिक्षा अभियान सञ्चालन गरेको प्रत्येक जिल्लामा नमूना मतदान तीन चार घण्टा दुई दिनसम्म कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त केन्द्रले दोलखा, रामेछाप, ओखलढुंगा, धादिङ, काभ्रे, सिन्धुपाल्चोकमा निर्वाचन कार्यक्रम सञ्चालन गरेको थियो ।

आयोगले पनि घरघरमै गएर पनि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । खेतीपातीको भित्र्याउने समय भएको हुँदा मतदातालाई पर्याप्त जानकारी गराउन कठिन भयो । स्थानीय तहको निर्वाचनमा बदर मत भएको कुरालाई ध्यानमा राखी दोस्रो चरणका प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा मत बदर हुन नकिन सर्तकता अपाउनुपर्नेमा सम्बद्ध पक्षको जोड छ ।
रासस

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार ००:००