८ मंसिर, काठमाडौं । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा आर्थिक विकास र समृद्धिका लागि अब जनताले वाम गठबन्धनलाई जिताउनुपर्ने बताएका छन् ।
एमाले बूढानीलकण्ठ नगरपालिका–५ ले आयोजना गरेको चुनावी कार्यक्रममा महासचिव पोखरेलले वाम गठबन्धनसँग स्थानीय विकासका माध्यमबाट जनतालाई आत्मनिर्भर बनाउने कार्यक्रम तथा राष्ट्र निर्माणको प्रष्ट दृष्टिकोण रहेको जिकिर गरे ।
सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका वाम शक्तिको एकता गर्ने उद्देश्यले सो गठबन्धन निर्माण गरिएको बताउँदै उहाँले वाम गठबन्धन निर्माण भएपछि नेपाली काँग्रेस आत्तिएर गठबन्धनले अधिनायकवादी शासन ल्याउन लागेको भ्रम फैलाएको आरोप लगाए ।
कांग्रेसलाई जनताले विभिन्न समयमा बहुमत दिए पनि आन्तरिक विवादले सरकार पूर्णकालीन समयसम्म सञ्चालन हुन नसकेको बताउँदै उनले कांग्रेसले राजनीतिक स्थिरता तथा देश विकासका योजना ल्याउन नसकेको पनि जिकिर गरे ।
काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहनुभएका पोखरेलले आफू सोही क्षेत्रको बासिन्दा भएकाले त्यहाँको पूर्वाधार विकास निर्माणमा आफू सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । रासस
प्रतिक्रिया