१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस भक्तपुरको चुनावी घोषणापत्र सार्वजनिक



५ मंसिर, भक्तपुर ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले तयार पारेको भक्तपुर घोषणापत्र सार्वजनिक गरेको छ ।

लोकतान्त्रिक गठबन्धनको युवा परिचालन समितिले आयोजना गरेको कार्यक्रममा कांग्रेस भक्तपुर सभापति दुर्लभ थापाले उक्त घोषणापत्र सार्वजनिक गरेका हुन् ।

घोषणापत्रमा भक्तपुर जिल्लाको समग्र विकासका लागि सडक विस्तार गर्ने, गाउँगाउँमा पक्की सडक निर्माण गर्ने, यातायातको पहुँच सबै क्षेत्रमा पु¥याउने, भक्तपुरलाई स्वास्थ्यको गन्तव्यको रुपमा विकास गर्ने, निःशुल्क शिक्षालाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने, मेलम्ची खानेपानीलाई भक्तपुरका सबै ठाउँमा पु¥याउने कुरा समावेश गरिएको छ ।

त्यसैगरी कृषिको प्रवर्दन गर्ने, खेतखेतमा सिँचाइको पहुँच पु¥याउने, बन्द भएका उद्योग सञ्चालनमा ल्याउने, नयाँ उद्योगको विकास गरी रोजगारीको प्रवर्द्धन गर्ने, इँटा, बालुवा खानीको व्यवस्थापन गर्ने, कला, संस्कृतिको जगेर्ना गर्ने, विश्वसम्पदा सूचीमा रहेका सम्पदाको संरक्षण गर्ने, होमस्टे पर्यटनको विकास गर्ने, भक्तपुरमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनको व्यवस्था गर्ने, भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ ।

कार्यक्रममा अध्यक्ष थापाले घोषणापत्रमा उल्लेख भएका काम गर्न कांग्रेस सक्षम रहेको चर्चा गर्दै भ्रमको खेती गर्ने वामपन्थी गठबन्धनको उम्मेदवारलाई कांग्रेसले चुनावबाट परास्त गर्ने बताए ।

सो अवसरमा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, युवा परिचालन समितिका संयोजक अष्टकुमार कवेँ, घोषणापत्र निर्माणका संयोजक किरण न्यौपाने, भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभातर्फका उम्मेदवार बाबुराजा जोशी, प्रदेश ‘क’ का उम्मेदवार जीवन खत्री, ‘ख’ का उम्मेदवार अनिल भुजु, डा कोमल फुयाल लगायतले भक्तपुरमा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरे ।
रासस

प्रकाशित मिति : ५ मंसिर २०७४, मंगलबार ००:००