११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचनलाई सफल तुल्याउन सबैको योगदान आवश्यकः प्रमुख निर्वाचन आयुक्त



४ मंसिर, काठमाडौँ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई सफलरुपमा सम्पन्न गर्न नागरिक समाज लगायत सबैको योगदान आवश्यक रहेको बताएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा नागरिक समाजका अगुवासंग आइतबार आयोगले गरेको अन्तरक्रियामा सबै मिलेर निर्वाचनलाई सफल तुल्याउने कर्तव्य र दायित्व पूरा गर्नुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले मतदाता शिक्षा, आचारसंहिता र सुरक्षाको विषयमा दिएका सुझावलाई निर्वाचन आयोगले गम्भीररुपमा हेरिरहेको बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गराउने सन्दर्भमा आयोगले निर्णय गर्ने क्षमता राख्दछ भन्ने सन्देश प्रवाह गर्न आवश्यक भएको बताए ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले अहिलेको मुख्य विषय भनेको सुरक्षाको प्रश्न भएकाले यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन आवश्यक रहेको बताए । पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन सवै नेपालीको भएकाले यस महाअभियानलाई सफल तुल्याउनु सबैको जिम्मेवारी भएको बताए ।

अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तीन वटा मतपत्रका कारण मतदाता दोधारमा रहने अवस्था अन्त्य गर्न तथा मतपेटिका सुरक्षितरुपमा राखेको छ भन्ने प्रत्याभूति मतदाता र उम्मेदवारलाई दिलाउन सक्नुपर्ने धारणा व्यक्त गरे ।

लोकसेवा आयोगका पूर्व अध्यक्ष तीर्थमान शाक्यले निर्वाचन प्रचार प्रसारको शैलीमा सुधार आएको भए पनि बदलिँदो समयअनुसार आचारसंहितालाई परिमार्जन गर्ने बेला भइसकेको बताए । पूर्वमुख्यसचिव डा विमल कोइरालाले आचारसंहिता पालनामा आयोगले कडाइका साथ काम गर्नुपर्ने खाँचो औँल्याए ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित, धाँधलीरहित र विश्वासनीयरुपमा कार्यसम्पादन गर्न गराउन सबैबाट प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

प्राध्यापक कृष्ण खनालले निर्वाचन आयोगलाई मतदाता संख्या लगायतका तथ्य र तथ्यांक वेभसाइटमा सजिलोसंग भेट्न सक्ने गरी राख्न सुझाव दिँदै समानुपातिक उम्मेदवारको छनोट हुने प्रणालीबारे जानकारी गराउनु आवश्यक रहेको बताए । डा नोवलकिशोर राईले आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्न र मतदाता शिक्षामा अझै कमजोरी देखिएकाले सुधारको खाँचो औल्याए ।

सविधानविद् डा चन्द्रकान्त ज्ञावलीले निर्वाचन आचारसंहिता विपरीत सरकार विस्तार हुँदा आयोगले त्यस विषयमा प्रभावकारीरुपमा प्रस्तुत हुन नसकेको धारणा व्यक्त गरे ।

नेपाल चेम्बर्स अफ कमर्शका प्रतिनिधि कमलेश अग्रवालले उम्मेदवारले गर्ने निर्वाचन खर्चमा आचारसंहितालाई कडाई गर्न सकेको खण्डमा उद्योगी व्यवसायीलाई समेत राहत मिल्ने विचार व्यक्त गरे ।

सो अवसरमा निर्वाचन आयोगका सहसचिव नवराज ढकालले निर्वाचनका लागि भइरहेको तयारीकाबारेमा जानकारी गराउएका थिए ।
रासस

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार ००:००