७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँचथरका अधिकांश मतदानस्थल साँघुरा



३० कात्तिक, पाँचथर ।
जिल्लामा रहेका अधिकांश मतदानस्थल रहेका ठाउँ साँघुरो रहेका कारण मतदातालाई मत हाल्न समस्या हुने देखिएको छ ।

मतदानस्थल साँघुरो भएका कारण मत हाल्न मतदातालाई समय बढी लाग्ने हुँदा बेलुका ५ बजेसम्म मतदान गर्न भ्याउन पनि मुस्किल पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी धु्रवकुमार राईले बताए ।

“एउटै मतदानस्थलमा तीन र चारवटा सम्म मतदान केन्द्र रहेको हुँदा एउटा मतदान केन्द्रमा मतपत्र लिने, मत संकेत गर्ने र मत खसाल्ने गरेर सात र आठवटा टेबल राखिन्छ तर हाम्रा मतदानस्थल साँघुरा छन्,” उनले भने ।

त्यहाँ कसरी दुई र तीनवटा मतदान केन्द्र अटाउने भन्ने समस्या रहेको उनले बताए । अधिकांश मतदानस्थल विद्यालयका खेलमैदान छन् । तर धेरै खेलमैदानमा नयाँ भवन निर्माण गरिएका छन् । जिल्ला निर्वाचन अधिकारी राईका अनुसार यसरी मतदान गर्न एकै मतदातालाई धेरै समय लाग्ने देखिन्छ ।

यस्तै पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्रै गरिनेछ । यसले गर्दा मतपेटिका सुरक्षालाई कडा पार्नुपर्ने अवस्था रहेको जिल्ला निर्वाचन अधिकारी राई बताउछन् । जिल्लामा निर्वाचन सम्पन्न गराउन १६५ मतदान केन्द्रमा एक हजार ४०० जना कर्मचारी खटिनेछन् ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र प्रतिनिधिसभा तथा प्रदेशसभा समानुपातिकतर्फ गरी ४९८ वटा मतपेटिका राखिनेछन् । मतदानपछि भेला गरिएका मतपेटिका चार स्थानमा राखिनेछ । पाँचथरमा एक लाख २५ हजार २१९ मतदाता रहेका छन् ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७४, बिहिबार ००:००