१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘वामपन्थीको सरकारबाट राष्ट्रियताको रक्षा र देशको विकास सम्भव’



२९ कात्तिक, चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको र अब छिट्टै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाद्वारा भरतपुरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्टले मात्र सम्पूर्ण शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा र प्रवर्द्धन गर्ने तथा वामपन्थीको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको विकास सम्भव भएको जिकिर गरे ।

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले नेपालको परिवर्तनकारी आन्दोलनमा दराई समुदायको र विशिष्ट भूमिका रहेको बताउँदै अब सबै उत्पीडित समुदायको सपना साकार हुने दिन छिट्टै आउने विश्वास व्यक्त गरे ।

सो अवसरमा समानुपातिक उम्मेदवार मंगलराम दराई, पूर्वसभासद् सन्तुराम दराई लगायत अगुवाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आह्वान गरे ।

माओवादी अध्यक्षसहित उम्मेदवारबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना तर्फबाट निर्वाचन आचारसंहिताको पूर्णपालना गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन एवं आचारसंहिता सम्बन्धी प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्यका उम्मेदवारसंग गरिएको अन्तरक्रिया’ मा उनले आफ्नो र वाम गठबन्धनका तर्फबाट अन्य दल र उम्मेदवारसंग पनि सहकार्य गरिने प्रतिबद्धता जनाए ।

चितवन क्षेत्र नं ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले भने, “मेरो तर्फबाट आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” जिल्लामा दलका नेताका बीचमा सौहार्दपूर्ण सम्बन्ध रहँदैआएको र कुनै खालका अप्ठ्यारा नआउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनसफल बनाउन सबैले आचारसंहिता पूर्णरुपमा पालना गर्नुपर्ने बताए । उनले भने, “आचारसंहिताको अक्षरशः पालना गर्न सबै लाग्नुपर्छ ।” तत्कालीन समयमा खिलराज रेग्मी नेतृत्वको सरकारले गराएको जस्तो निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन पनि उनले आग्रह गरे ।

चितवन क्षेत्र नं ३ बाट लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवार रहेका पाण्डेले सरकारी तबरबाट हुने आवश्यक सुरक्षा प्रबन्धप्रति निश्चिन्त हुन आग्रह गर्दै सबैको साथ र सहयोगबाट निर्वाचन निष्पक्ष र धाँधलीरहित हुने बताए ।

शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले आर्थिक हिसाबले आचारसंहिता उल्लंघन बढी हुने बताउँदै कडाइका साथ अनुगमन गर्नुपर्नेमा जोड दिए । चितवन क्षेत्र नं २ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार अधिकारीले भरतपुर महानगरपालिका २९ का वडा सचिवबाटै आचारसंहिता उल्लंघन भएको आरोप लगाउँदै तत्काल कारवाही गर्न आग्रह गरे ।

सो अवसरमा अन्य उम्मेदवारले पनि सुझाव दिएका थिए । जिल्लाका तीन निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि ९८ उम्मेदवार छन् । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्मा र निर्वाचन अधिकृत शम्भुराज रेग्मीले निर्वाचन आचारसंहिता, व्यवस्थापन र प्रजिअ नारायणप्रसाद भट्टले निर्वाचन सुरक्षाका विषयमा प्रकाश पारेका थिए ।
रासस

प्रकाशित मिति : २९ कार्तिक २०७४, बुधबार ००:००