कात्तिक, ३ वालिङ । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला केही व्यक्तिले निःशुल्क जग्गा उपलब्ध गराएपछि भीरकोट नगरपालिकाले नयाँ भवन बनाउने भएको छ ।
शुक्रबार शिलान्यास गरिएको उक्त भवनका लागि स्थानीयबासी गोविन्दकुमार कर्माचार्य, भीमलाल कर्माचार्य, फत्तबहादुर केसी, रुद्रबहादुर केसी र इन्द्रबहादुर केसीले २ करोड रुपैयाँ मूल्य बराबरको जग्गा निशुल्क प्रदान गरेका हुन् ।
४ रोपनी क्षेत्रफल रहेको उक्त जग्गा वडा नं. १ को स्थित दार्सिङ भोर्लाकुनामा छ । काम थालिएको २ वर्षभित्र भवन निर्माण गरिसक्न गजेन्द्र निर्माण सेवासँग १० करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको नगर प्रमुखका स्वकीय सचिव नन्दु खनालले बताए ।
भवन शिलान्यास गर्दै नगरप्रमुख छायाराम खनालले कार्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराएकामा जग्गादाताको प्रशंसा गरे । रासस





प्रतिक्रिया